गुगल म्याप्समा नेभिगेसनका क्रममा ब्याट्री खपत घटाउने नयाँ फिचरको रूपमा पावर सेभिङ मोड आउँदै
कात्तिक १४, २०८२ १२:९
काठमाडौँ । गुगलको नेभिगेसन एप गुगल म्याप्सले अब ब्याट्रीको प्रयोगलाई कम गर्नका लागि एक डेडिकेटेड फिचरको रूपमा पावर सेभिङ मोड ल्याउने तयारी गरेको छ । घण्टौँ लामो समयसम्म नेभिगेसन प्रयोग गर्दा ब्याट्री लाइफमा पुग्ने असरलाई केही हदसम्म समाधान गर्नका लागि गुगलले यो कदम चालेको हो ।
एन्ड्रोइड अथोरिटीका अनुसार यो सुविधा गुगल म्याप्सको version 25.44.03.824313610 beta मा भेटिएका कोड स्ट्रिङहरूमा आधारित छ । प्रयोगकर्ताहरूले यो सुविधालाई भौतिक बटन प्रयोग गरेर सक्रिय गर्न सक्नेछन् ।
ड्राइभिङ गर्दा प्रयोगकर्ताहरूलाई अनस्क्रिन बटन ट्याप गर्ने झन्झटबाट छुट्करा दिनका लागि यसलाई पावर बटन थिचेर सक्रिय गर्ने विकल्प दिइएको छ । सोर्स कोडमा रहेको एक कोड स्ट्रिङमा भनिएको छ, "ब्याट्री बचाउनका लागि ड्राइभिङ गर्दा पावर बटन थिच्नुहोस् । जसमा केवल मुख्य जानकारीहरू जस्तै आगामी मोडहरू (next turns) मात्र देखाइनेछन् ।"
पावर सेभिङ मोड सक्रिय भएपछि नेभिगेसन अनुभवमा केही महत्त्वपूर्ण परिवर्तनहरू आउनेछन् । गुगलले नेभिगेसन यूआई (युजर इन्टरफेस) बाट सबै रङ्गहरू हटाई एउटा सफा रङ्गहीन अनुभव प्रदान गर्नेछ ।
नक्सामा देखिने सडकका नामहरू सहित अधिकांश टेक्स्टहरू हटाइनेछन् । स्क्रिनको तल्लो भागमा ईटीए (पुग्ने अनुमानित समय), दूरी र गन्तव्यसम्मको बाँकी समय जस्ता मुख्य जानकारीहरू भने यथावत् रहनेछन् ।
यो सुविधा सक्रिय हुँदा पनि प्रयोगकर्ताहरूले आगामी मोडहरूको लागि अडियो मार्गदर्शन भने पाइरहने छन् । जसले गर्दा यो मूल अनुभवबाट पूर्ण रूपमा विमुख हुनेछैन । यसलाई नेभिगेसनको लागि न्यूनतम दृष्टिकोण (मिनिमलिस्ट अप्रोच) भनिएको छ ।
पावर सेभिङ मोडले हिँड्ने, साइकल चलाउने र ड्राइभिङ लगायत अधिकांश यातायात मोडहरूमा काम गर्नेछ । यद्यपि यो सुविधा सार्वजनिक यातायात (जस्तै: बस वा रेल) मा काम गर्छ कि गर्दैन भन्ने पुष्टि हुन बाँकी छ ।
यो पावर सेभिङ मोडको एउटा महत्त्वपूर्ण सीमा के छ भने यो तपाईँको फोन पोर्ट्रेट ओरिएन्टेसन (ठाडो) मा हुँदा मात्र काम गर्छ । जसले गर्दा ल्यान्डस्केप (तेर्सो) ओरिएन्टेसनमा नेभिगेट गर्दा यो पहुँचयोग्य हुने छैन ।
यो फिचर विशेष गरी गन्तव्यबाट धेरै टाढा हुँदा र फोनको ब्याट्री कम हुँदा एकदमै उपयोगी हुने देखिन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ १२:९
