काठमाडौँ । सेमीकन्डक्टर उद्योगको अग्रणी कम्पनी एनभिडियाले ५ ट्रिलियन अर्थात् ५० खर्ब डलरको बजार पुँजीकरणमा पुग्ने विश्वकै पहिलो कम्पनी बनेर इतिहास रचेको छ । यो उपलब्धि कम्पनीले ४ ट्रिलियन डलरको आँकडा पार गरेको चार महिनाभित्रै हासिल गरेको हो ।
एआई क्षेत्रमा भइरहेको अभूतपूर्व प्रगति र कम्पनीका पछिल्ला महत्त्वपूर्ण घोषणाका कारण एनभिडियाको बजार मूल्यमा उछाल आएको विश्लेषण गरिएको छ । गएको मंगलबार वाशिङ्टन डीसीमा आयोजित एक सम्मेलनमा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले धेरै ठुला साझेदारी र भविष्यका योजनाहरू सार्वजनिक गरे ।
उक्त सम्मेलनमा हुआङले राइड-हेलिङ कम्पनी उबरसँग एक लाख रोबोट्याक्सी निर्माण गर्ने, नोकियासँग एक अर्ब डलरको लगानीसहित सिक्स जी सेलुलर प्रविधि विकास गर्ने, अमेरिकाको ऊर्जा विभागसँग मिलेर सात ओटा एआई सुपरकम्प्युटर बनाउने, फर्मा कम्पनी एली लिलीसँग औषधि खोज तथा विकासका लागि एआई प्लान्ट स्थापना गर्ने लगायतका साझेदारीको घोषणा गरेका थिए ।
अमेरिकामा रहेका पाँच लाखभन्दा बढी रिक्त उत्पादन क्षेत्रका रोजगारीका लागि रोबोटिक वर्कफोर्स निर्माण गर्ने महत्वाकांक्षासहित धेरै अन्य कम्पनीहरूसँग पनि सहकार्यको जानकारी दिइएको थियो ।
एनभिडियाको सफलतामा ट्रम्प प्रशासनसँगको उसको घनिष्ठ सम्बन्धले पनि भूमिका खेलेको देखिन्छ । जीटीसी सम्मेलनमा हुआङले प्रशासन र राष्ट्रपति ट्रम्पको व्यक्तिगत रूपमा प्रशंसा गर्दै ‘कसैले पनि यति धेरै मेहनत नगर्ने’ बताएका थिए । हुआङले एसिया कूटनीति भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पलाई दक्षिण कोरियामा भेट्ने जानकारी पनि दिए । दक्षिण कोरियामा ट्रम्पको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्त्वपूर्ण व्यापारिक वार्ता हुने अपेक्षा गरिएको छ । जसको परिणाम एनभिडियाका लागि निकै महत्त्वपूर्ण हुने हुआङको विश्वास छ ।
पछिल्ला केही महिनादेखि अमेरिका-चीन व्यापार विवादले एनभिडियालाई बजारमा दबाब दिइरहेको थियो । यो विवादको चपेटामा एनभिडिया धेरै पटक परिसकेको छ । कम्पनीले चीनमा आफ्ना चिप बिक्री पुनः सुरु गर्न अनुमति दिने व्यापार सम्झौताको आशा गरेको छ । जुन पहिले यसको सबैभन्दा बलियो बजारमध्ये एक थियो । यसका लागि ट्रम्पको विश्वास जित्नु महत्त्वपूर्ण मानिएको छ ।
एआईका ठुला कम्पनीहरूको बजार मूल्य अकल्पनीय रूपमा बढिरहँदा एनभिडियाले यस क्षेत्रको नेतृत्व गरिरहेको छ । विश्वमा ४० खर्ब डलरभन्दा बढी मूल्य भएका तीन ओटा मात्र कम्पनी छन् । र, ती सबै एआई व्यापारबाट फाइदा उठाइरहेका प्रविधि दिग्गजहरू हुन् । एनभिडियापछि माइक्रोसफ्टले जुलाईमा यो आँकडा पार गरेको थियो भने एप्पल हालै तेस्रो कम्पनी बनेको थियो ।
अर्कोतर्फ कम्पनीहरूको बजार मूल्यमा आएको यो तीव्र वृद्धिले एआई बबलको डरलाई भने बढाएको छ । धेरै विज्ञहरूले एआई कम्पनीहरूको अत्यधिक बजार मूल्याङ्कन भएकोमा चिन्ता व्यक्त गरिरहेका छन् । कम्पनीहरूको बजार र अमेरिकी अर्थतन्त्रमा रहेको अत्यधिक प्रभावले कुनै पनि गिरावटलाई खतरनाक बनाउन सक्ने उनीहरूको चेतावनी छ ।
गिजमोडोको सहयोगमा ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ १४:५५
