close

जेनजी नेतृ राउतको प्रश्न: भोटरका लागि एनआईडीमा भएकै बायोमेट्रिक दिन जिल्लामै जानुपर्ने किन ?

टेकपाना टेकपाना

कात्तिक १९, २०८२ १४:११

जेनजी नेतृ राउतको प्रश्न: भोटरका लागि एनआईडीमा भएकै बायोमेट्रिक दिन जिल्लामै जानुपर्ने किन ?

काठमाडौँ । जेनजी नेतृ एवं सामाजिक अभियन्ता भावना राउतले मतदाताका लागि राष्ट्रिय परिचयपत्र (एनआईडी) मा प्रयोग भएकै बायोमेट्रिक डेटा प्रयोग नगरिएकोमा असन्तोष व्यक्त गरेकी छिन् । बुधबार फेसबुकमा एक पोस्ट गर्दै राउतले ‘चुनावी सरकार’ का गृहमन्त्री ओमप्रकाश अर्यालसँग यसबारे प्रश्न उठाएकी हुन् ।

भोटर कार्डका लागि अनलाइन दर्ता गर्न सकिए पनि बायोमेट्रिक दिन जिल्ला निर्वाचन कार्यालय पुग्नुपर्ने अवस्था अझै कायम रहनु दुःखद रहेको उनको बुझाइ छ । अधिकांश युवाले राष्ट्रिय परिचयपत्र बनाइसकेको र त्यसमा बायोमेट्रिक पनि दिइसकेको अवस्थामा सोही डेटा प्रयोग गरेर प्रक्रिया सहज बनाउन सरकारले के तयारी गरिरहेको छ भनेर उनले गृहमन्त्री अर्याललाई सोधिन् ।

“भोटर कार्डका लागि अनलाइन दर्ता त हुन्छ, तर बायोमेट्रिक दिन जिल्ला निर्वाचन कार्यालय पुग्नुपर्ने अवस्था अझै किन छ ? अधिकांश युवाले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन्, जहाँ उनीहरूले बायोमेट्रिक पनि दिइसकेका छन् । त्यसैले त्यो डेटा प्रयोग गरेर प्रक्रिया सहज बनाउन सरकारले केही तयारी गरिरहेको छ कि ‘पर्ख र हेरौं’ नै नीति हो ?” उनको प्रश्न छ ।

दैनिक ५,०००-७,००० अनलाइन दर्तामध्ये जम्मा ८००-९०० मात्र बायोमेट्रिक सम्पन्न भइरहेको अवस्थामा बाँकी सबैलाई समेट्ने ठोस योजना के छ भनी पनि राउतले गृहमन्त्रीसँग जवाफ मागिन् । “विगतका चुनावहरूमा जस्तै यदि यसपटक पनि जम्मा ६०-६५% मात्र भोट खस्ने हो भने यो ‘चुनावी सरकार’ को औचित्य के रहन्छ ?” उनले प्रश्न गरिन् । 

मतदाता नामावली दर्ताभन्दा तीव्र गतिमा ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) दर्ता हुने विडम्बना औंल्याउँदै उनले राज्य संयन्त्र किन यति कमजोर बन्दैछ भन्ने प्रश्न उठाएकी छिन् । गाउँ-गाउँमा पोस्टर टाँस्ने, स्थानीय प्रिन्टिङ हाउस र फोटो स्टुडियोहरूलाई प्रयोग गरेर अनलाइन दर्ता सहज बनाउन सरकारले किन पहल नगरेको हो भनी पनि उनले सरकारसँग जवाफ मागेकी छिन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ १४:३९