काठमाडौँ । फिनटेक कम्पनी एलोई प्रालिले ५० जना महिलालाई विद्युतीय चार पाङ्ग्रे सवारीसाधन चलाएर आत्मनिर्भर बनाउने उद्देश्यले ड्राइभिङ तालिम प्रदान गर्ने भएको छ । यो तालिम सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजनाको सहयोगमा सञ्चालन गर्न लागिएको हो ।
कम्पनीका अनुसार, २५/२५ जना गरी दुई चरणमा महिलाहरूलाई नि:शुल्क तालिम दिइनेछ । प्रत्येक चरण चार-चार महिनाको हुनेछ ।
तालिममा इलेक्ट्रिक माइक्रोबस ड्राइभिङ र लाइसेन्स प्राप्ति, सवारीसाधनको प्राविधिक मर्मत तथा व्यवस्थापन सीप, व्यवसाय व्यवस्थापन र वित्तीय साक्षरता, साथै नेतृत्व विकास र सशक्तीकरण सम्बन्धी सीप सिकाइनेछ । लाइसेन्स प्राप्त गरेपछि सहभागी महिलाहरूलाई सवारीसाधन चलाउने अवसरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
सन् २०१९ मा स्थापना भएको एलोईले हरित यातायात र कृषि उद्यमीहरूलाई डिजिटल वित्तीय समाधान प्रदान गर्दै आएको छ । एलोई र सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाको सहकार्यले स्वच्छ यातायात प्रवर्द्धनसँगै महिलाहरूलाई आर्थिक रूपमा सबल र स्वतन्त्र बन्ने अवसर प्रदान गर्ने उद्देश्य राखिएको कम्पनीका सिनियर प्रोडक्ट म्यानेजर विराट सिंह ठकुरीले बताए ।
इलेक्ट्रिक माइक्रोबस ड्राइभिङ तालिममा सहभागी हुन इच्छुक महिलाहरूले ९७०४५५४२१७ नम्बरमा सम्पर्क गरी आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १२:२७
