काठमाडौँ । काठमाडौँमा दुई दिने ‘सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५' सुरु भएको छ । १५० भन्दा बढी स्टार्टअप र इनोभेसन सहभागी रहेको यो फेस्ट बिहीबारदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको हो ।
लिभिङ विथ आईसीटी, आईसीटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरले संयुक्त रूपमा उक्त फेस्ट आयोजना गरेका हुन् । शुक्रबारसम्म चल्ने यस फेस्टमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ ।
फेस्टको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले गरेकी हुन् । उद्घाटन समारोहमा बोल्दै उनले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार र कानुनी सुधारमा जोड दिएको बताइन् । यसका लागि एआई नीति र एआई सेन्टर स्थापना जस्ता पहलहरू गरिएको उनले जानकारी गराइन् ।
सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई, रकेट तथा एरोस्पेस सम्बन्धी उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा भएका स्टार्टअप कम्पनीहरूमध्ये आईसीटी अवार्ड २०२५ का स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टार र सोसल इनोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि रहेको आयोजकले जनाएको छ ।
स्टार्टअप र प्रोडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रोडक्ट डेमो र नेटवर्किङ सेसन पनि राखिएको छ । आयोजनका अनुसार आईसीटी अवार्ड २०२५ का लागि १५ विधामा स्टार्टअप कम्पनी छनोट प्रक्रिया जारी छ । यसका लागि हालसम्म सात सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भइसकेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८२ १८:३१
