close

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न एलन मस्कले ल्याए एक्स च्याट, स्क्रिनशट लिन नमिल्ने बनाउन सकिने

टेकपाना टेकपाना

मंसिर १, २०८२ १२:५१

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न एलन मस्कले ल्याए एक्स च्याट, स्क्रिनशट लिन नमिल्ने बनाउन सकिने

काठमाडौँ । एलन मस्कको एक्सएआईले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलेको ट्वीटर) मा एक्स च्याट नामक नयाँ मेसेजिङ प्लेटफर्म सार्वजनिक गरेका छन् । मस्कको एभ्रिथिङ एपको भिजनलाई साकार पार्ने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको यो सेवा सोमबार सुरु गरिएको हो ।

यो नयाँ प्लेटफर्मलाई ह्वाट्सएप, भाइबर जस्ता लोकप्रिय मेसेजिङ सेवाहरूको गोपनीयता केन्द्रित विकल्पको रूपमा प्रस्तुत गरिएको छ । एक्स च्याटलाई सुरक्षित मेसेजिङमा ध्यान केन्द्रित गर्दै प्रस्तुत गरिएको छ । यसले एक्समा मेसेज आदानप्रदानको अनुभवलाई बढावा दिन थुप्रै नयाँ सुविधाहरू ल्याएको छ ।

एलन मस्कले एक्समा एन्ड-टु-एन्ड इन्क्रिप्सन र एउटा पूर्णतया नयाँ कम्युनिकेसन्स स्ट्याक (communications stack) रोल आउट गरिएको बताएका छन् । प्लेटफर्ममा गरिएका सबै च्याटहरू एन्ड-टु-एन्ड इन्क्रिप्टेड हुनेछन् । जसमा फाइल शेयरिङ पनि समावेश छ ।

यसले मेसेज पठाउने र प्राप्त गर्ने बाहेक अरू कसैले मेसेजमा पहुँच गर्न नसक्ने कुरा सुनिश्चित गर्दछ । पहिलेको भन्दा फरक रूपमा ग्रुप मेसेज र मिडियाहरू पनि अब इन्क्रिप्टेड हुन सक्ने बताइएको छ । यो प्रणालीले अडियो/भिडिओ कललाई पनि सपोर्ट गर्दछ ।

यसमा प्रयोगकर्ताले आफ्ना च्याटहरू गोप्य रहेको कुराको सुनिश्चितताका लागि स्क्रिनशट लिन नमिल्ने बनाउन सक्नेछन् । यसका साथै कसैले डीएम वा ग्रुप च्याटको स्क्रिनशट लिन गरेको प्रयास बारे थाहा पाउन नोटिफिकेसन अन गर्न पनि सकिनेछ ।

एक्स च्याटले प्रयोगकर्ताहरूलाई मेसेज पठाएपछि त्यसलाई सम्पादन गर्ने, मेटाउने वा हराउने बनाउन अनुमति दिनेछ । ह्वाट्सएपमा जस्तो 'this message was deleted' भन्ने रिमार्क छोड्नुको सट्टा मेटाइएका मेसेजहरू पूर्ण रूपमा गायब हुनेछन् ।

गोपनीयता केन्द्रित प्रयोगकर्ताहरूका लागि यो विशेष आकर्षक हुन सक्छ । किनकि एक्स च्याटमा कुनै विज्ञापन नहुने र प्रयोगकर्ताको डेटा ट्र्याक समेत नगरिने प्रतिबद्धता कम्पनीले गरेको छ ।

एक्स च्याटमा पुरानो डीए र नयाँ च्याट फंसनका लागि एकीकृत इनबक्स ल्याइएको छ । एक्स च्याट हाल आईओएस र वेबमा एक्सको डीएम खण्डमार्फत उपलब्ध छ । कम्पनीले एन्ड्रोइडमा पनि यो सुविधा चाँडै नै जारी गरिने बताएको छ ।

यो नयाँ मेसेजिङ सर्भिसमा चाँडै नै भ्वाइस मेमो (voice memos) को सपोर्ट समेत आउने बताइएको छ । यो प्लेटफर्मलाई एभ्रिथिङ एप बनाउने मस्कको योजना छ । यसै सन्दर्भमा उनले चाँडै नै एक्स मनी पनि सार्वजनिक गरिने बताएका छन् ।

जसको उद्देश्य एक्सलाई एक व्यक्तिगत बैँकिङ हब बनाउनु हो, जहाँ प्रयोगकर्ताहरूले बचत खाता वा ऋणको लागि आवेदन दिन सक्नेछन् । विज्ञहरूले एक्सको इन्क्रिप्सन प्रक्रियामा केही सम्भावित कमजोरीहरू (potential vulnerabilities) रहेको भन्दै आलोचना गरेका छन् । तर मस्कले यसलाई उपलब्ध मध्ये सबैभन्दा कम असुरक्षित मेसेजिङ सिस्टम बनाउने लक्ष्य रहेको बताएका छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १२:५१