काठमाडौँ । आईएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीन रेग्मी नियुक्त भएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर विनय खड्का बिदा भएपछि कम्पनीले रेग्मीलाई नियुक्त गरेको हो ।
रेग्मीले सोमबारदेखि नै कार्यभार सम्हाल्ने छन् । खल्ती र आईएमई पे मर्ज हुनुअघि रेग्मी आईएमई पेको सीईओ थिए । मर्जरपछि बनेको कम्पनीमा खड्का सीईओ बन्दा रेग्मी कम्पनीको निर्देशक बनेका थिए ।
रेग्मी भारतको यूपीआई सिस्टमलाई क्रस बोर्डर पेमेन्ट (अन्तरदेशीय भुक्तानी) को रूपमा नेपाल भित्र्याउन लागिरहेको कम्पनी गेटवे पेमेन्ट नामक कम्पनीमा महाप्रबन्धक थिए । करिब एक वर्ष गेटवे पेमेन्टमा काम गरेका उनले त्यसअघि झण्डै सवा वर्ष छिटो कनेक्ट नामक भुक्तानी प्रदायक कम्पनीमा विभिन्न भूमिकामा रहेर काम गरेका थिए ।
सन् २००७ मा एसटीएम टेलिकमबाट प्रोजेक्ट म्यानेजरको रूपमा करियर सुरु गरेका उनी करिब साढे चार वर्षपछि बैङ्किङ क्षेत्रमा होमिएका थिए । त्यसक्रममा साढे चार वर्ष उनले एनआईसी एसिया बैँकमा सूचना प्रविधि अधिकृत र व्यवसाय विकास अधिकृतको रूपमा समेत काम गरे ।
सन् २०१७ मा एनएमबी बैँकमा आबद्ध भएका उनले त्यहाँ दुई वर्ष बिजिनेस डेभलपमेन्ट म्यानेजर र डिजिटल बैँकिङ म्यानेजरको अनुभव लिए । त्यसपछि डिजिटल रूपान्तरण परियोजना प्रमुखको रूपमा एनआईसी एसिया बैँक प्रवेश गरेका थिए ।
रेग्मीले काठमाडौँ इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १५:०
