close

एलन मस्कको दाबी: एआई र रोबोटले संसारभर गरिबी हटाउने, सबैलाई धनी बनाउने

टेकपाना टेकपाना

मंसिर ५, २०८२ १२:४९

एलन मस्कको दाबी: एआई र रोबोटले संसारभर गरिबी हटाउने, सबैलाई धनी बनाउने

काठमाडौँ । विश्वकै धनाढ्य एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ह्युमनोइड रोबोटले विश्वबाट गरिबी पूर्ण रूपमा हटाउने र सबैलाई धनी बनाउने दाबी गरेका छन् । यूएस-साउदी लगानी मञ्चमा बोल्दै उनले प्रविधिका कारण भविष्यमा मुद्रा (पैसा) नै आवश्यक नपर्ने अड्कल गरे ।

मञ्चमा आफ्नो धारणा राख्दै मस्कले भने, “सबैलाई धनी बनाउने आधारभूत रूपमा एउटै मात्र तरिका छ । त्यो हो एआई र रोबोटिक्स ।” उनले यो प्रविधिको विकासमा टेस्ला अग्रणी भए पनि अन्य धेरै कम्पनीहरूले ह्युमनोइड रोबोट बनाउने र यसको लाभ सबैमाझ पुग्ने उल्लेख गरे ।

एआई र रोबोटिक्सको विकासपछि मानिसहरूले जीविकोपार्जनका लागि काम गर्नुपर्ने बाध्यता हट्ने उनको तर्क छ । एआईको विकासले मानिसहरूलाई तरकारी खेती गर्ने वा अन्य सामान्य जीवनशैलीका कार्यहरूमा ध्यान केन्द्रित गर्न सुनिश्चित गर्ने भन्दै उनले थपे, “भविष्यमा बिजुली र स्रोत-साधन जस्ता केही सीमितताहरू रहनेछन्, तर मलाई लाग्छ एक समय यस्तो आउनेछ जब पैसा नै अप्रासंगिक हुनेछ ।”

मानिसहरूले आजका धनी व्यक्तिहरूले भन्दा पनि उत्कृष्ट जीवनस्तर प्राप्त गर्ने उनको भनाइ छ । एआई र रोबोटले रोजगारी खोस्ने त्रासका कारण मानिसहरू चिन्तित बनिरहेका बेला मस्कले भने यसलाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन् । “विश्वबाट गरिबी हटाउन धेरै प्रयास भए । तर यसको एक मात्र उत्तर प्रविधि हो,” उनले भने । 

यद्यपि, मस्कले यस्तो भविष्य सुनिश्चित गर्न एआईलाई सत्य र सुन्दरताको गहिरो ख्याल गर्ने गरी विकास गरिनुपर्नेमा जोड दिएका छन् । उनले यो महत्त्वाकांक्षी योजना कसरी साकार हुन्छ भन्नेबारे कुनै स्पष्ट रोडम्याप भने प्रस्तुत गरेनन् । विगतमा पनि यस्तै खालका धारणा राख्दै आएका मस्कको यो पछिल्लो भनाइले प्रविधिको भविष्यबारे विश्वव्यापी रूपमा चर्चा सुरु गराएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १२:४९