close

सुरक्षण मुद्रण केन्द्रमा छापिएका ड्राइभिङ लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्त्रण

टेकपाना टेकपाना

मंसिर ५, २०८२ २०:१७

सुरक्षण मुद्रण केन्द्रमा छापिएका ड्राइभिङ लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्त्रण

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले नेपालमै छपाइ गरेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) पहिलो पटक यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबिच केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई पहिलो चरणमा ५२० थान लाइसेन्स हस्तान्तरण गरेका हुन् ।

क्यूआर कोडसहितको उक्त लाइसेन्सको ल्याब परीक्षण सफल भएपछि विभागलाई बुझाइएको हो । लाइसेन्स बुझ्दै विभागका निर्देशक खतिवडाले यससँगै विगत ४–५ वर्षदेखि कायम लाइसेन्स अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरे । "संस्थाको समस्या समाधान भएको छ, हामी हर्षित छौँ । यो सेवाग्राहीको समस्या समाधानको सकारात्मक पहल हो," खतिवडाले भने ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा छपाइ कार्य तीव्र गतिमा अघि बढाइने बताए । हाल दोस्रो चरणका लागि करिब १२ सय आवेदकको तथ्याङ्क प्राप्त भइसकेको र छपाइ निरन्तर रहने उनले जानकारी दिए ।

६ महिनामा १२ लाख लाइसेन्स छापिने

गत कात्तिक १२ गते केन्द्र र विभागबिच भएको सम्झौताअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स उपलब्ध गराउनुपर्नेछ । सुरुको तीन महिनामा मासिक एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख लाइसेन्स छापिनेछ ।

विभागले दैनिक दुई हजार तथ्याङ्क केन्द्रलाई उपलब्ध गराउनका लागि एक महिनाभित्र नयाँ वैकल्पिक सफ्टवेयर विकास गर्ने तयारी समेत गरेको छ ।

काभ्रेको पनौतीस्थित केन्द्रमा गत २१ कात्तिकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लाइसेन्स छपाइको उद्घाटन गरेका थिए । केन्द्रबाट छापिने नयाँ कार्डमा स्मार्ट चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । यसमा ६ तहको सुरक्षा प्रविधि र ३४ प्रकारका सुरक्षा विशेषताहरू (केही दृश्य र केही अदृश्य) समावेश गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले लाइसेन्सबाहेक केही दिनभित्रै हुलाक टिकट छपाइ सुरु गर्ने तयारी गरेको छ भने भविष्यमा नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर पनि छाप्ने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ २०:१७