झन्डै २५ वर्षपछि फेरियो देश-विदेशमा सेवा दिने नेपाली आईटी कम्पनी आईएमएस सफ्टवेयरको लोगो
मंसिर ८, २०८२ १४:३९
काठमाडौँ । देश-विदेशमा सूचना प्रविधि सेवा प्रदान गर्दै आएको नेपाली कम्पनी ‘आईएमएस सफ्टवेयर’ले आफ्नो ब्रान्ड पहिचान परिवर्तन गरेको छ । स्थापनाको करिब २५ वर्षपछि कम्पनीले आफ्नो पुरानो लोगो र कर्पोरेट पहिचानलाई समयानुकूल परिमार्जन गरेको हो । नेपालसहित भारत, मलेसिया, यूएई, बेलायत र जापानमा सेवा विस्तार गरिसकेको आईएमएसले साना पसलदेखि ठूला चेन स्टोरसम्मका २० हजारभन्दा बढी व्यवसायलाई प्राविधिक सेवा प्रदान गर्दै आएको छ ।
“नयाँ ब्रान्ड पहिचानले आईएमएस सफ्टवेयरको परिवर्तनशील सोच, दिगो दृष्टि र भविष्यका योजनालाई झल्काउँछ । आधुनिक र स्पष्ट लुकले कम्पनीको उद्देश्यलाई प्रस्तुत गर्छ । नयाँ रूपले साना पसलदेखि ठुला चेन स्टोरसम्म सबै प्रकारका व्यवसायलाई स्मार्ट उत्पादन, बलियो प्रविधि र थप सहज सेवा दिन कम्पनी प्रतिबद्ध रहेको सन्देश दिन्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आईएमएसले प्रयोग गर्दै आइरहेको लोगो र ब्राण्ड कलर फेरेको छ । यसअघि नीलो रङमा अङ्ग्रेजीमा ims लेखिएको थियो । त्यसमा लेखिएको अङ्ग्रेजी अक्षर 'i' को माथिको थोप्लोबाट सुन्तला रङले माथिल्लो भागलाई ओगटेको थियो । सफ्टवेयर लेखिएको शब्द पनि सुन्तला रङमै लेखिएको थियो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ लोगोमा धेरै परिवर्तन गरिएको छ । पुरानो लोगोमा दुई वटा मात्रै रङ रहेकामा नयाँमा गाढा निलो, पहेंलो र खरानी प्रयोग गरिएको छ । लोगोमा प्रयोग गरिएको फन्ट पनि फेरिएको छ । यसअघि सानो अक्षरमा आईएमएस लेखिएकामा अहिले ठुलो अक्षर (capital letters) IMS लेखिएको छ । सफ्टवेयरलाई भने ठुलो अक्षर नै कायम गर्दै रङ र फन्ट फेरिएको छ । SOFTWARE लेखिएको देब्रेपट्टि कम्पनीले आफ्नो ब्राण्ड पहिचानका लागि दुईवटा रङ मिश्रित आकार तय गरेको छ । यसले कम्पनीको पहिचान प्रतिनिधित्व गर्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ८, २०८२ १५:५०
