close

एलन मस्कको स्याटलाइट इन्टरनेटलाई टक्कर, १ जीबीपीएस स्पिड दिने एन्टेना ल्याउँदै अमेजन

टेकपाना टेकपाना

मंसिर १०, २०८२ ९:५१

एलन मस्कको स्याटलाइट इन्टरनेटलाई टक्कर, १ जीबीपीएस स्पिड दिने एन्टेना ल्याउँदै अमेजन

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको स्टारलिङ्कलाई चुनौती दिँदै जेफ बेजोसको कम्पनी अमेजनले उच्च गतिको स्याटलाइट इन्टरनेट सेवाका लागि आफ्नो पहिलो एन्टेना सार्वजनिक गरेको छ । स्टारलिङ्कको निकटतम प्रतिद्वन्द्वी मानिएको अमेजनले सोमबार आफ्नो स्याटलाइट परियोजना ‘प्रोजेक्ट काइपर’लाई ‘अमेजन लिओ’ मा रिब्रान्ड गर्दै ‘लिओ अल्ट्रा’ नामको एन्टेना घोषणा गरेको हो । 

आगामी वर्षदेखि व्यावसायिक रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको कम्पनीले अहिले यसलाई ‘प्राइभेट प्रिभ्यु’ अर्थात् परीक्षणका रूपमा सार्वजनिक गरेको छ । विशेषगरी व्यावसायिक तथा सरकारी प्रयोगकर्तालाई लक्षित गरिएको ‘लिओ अल्ट्रा’ एन्टेना ‘२० बाई ३०’ इन्चको आकारमा उपलब्ध हुनेछ । हालसम्म यसको मूल्य र उपलब्धताको विस्तृत विवरण नखुलाइए पनि यसको डिजाइन र प्राविधिक क्षमता सार्वजनिक गरिएको छ ।

अमेजनले दाबी गरे अनुसार लिओ अल्ट्रा हाल उत्पादनमा रहेको सबैभन्दा तीव्र गतिको कस्टमर टर्मिनल हो । यसले १ जीबीपीएस सम्मको डाउनलोड र ४०० एमबीपीएससम्मको अपलोड स्पिड एकैसाथ दिन सक्छ । यसका साथै कम्पनीले ११ इन्चको ‘प्रो’ एन्टेना र ७ इन्चको ‘नानो’ एन्टेना पनि ल्याउनेछ । यी एन्टेनाले क्रमशः ४०० एमबीपीएस र १०० एमबीपीएससम्मको गति धान्न सक्ने कम्पनीको दाबी छ । यसमा अमेजन वेब सर्भिसेज र अन्य क्लाउड नेटवर्कसँग प्रत्यक्ष र सुरक्षित कनेक्सनको सुविधा पनि समावेश छ ।

बजारमा हाल उपलब्ध एलन मस्कको स्टारलिङ्क पर्फर्मेन्स किटले अधिकतम ४०० एमबीपीएससम्मको डाउनलोड स्पिड दिन्छ । यो भनेको अमेजनले ल्याएको नयाँ एन्टेनाको गतिको आधा मात्र हो । यद्यपि स्पेसएक्सले पनि आफ्नो भी३ स्याटलाइटमार्फत १ टीबीपीएस ब्यान्डविथ र आगामी वर्ष स्टारलिङ्क ग्राहकलाई गिगाबिट स्पिड उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

उच्च गतिको इन्टरनेट बाहेक अमेजन लिओमा उपलब्ध निजी नेटवर्किङ सेवाले यसलाई हाल प्रचलनमा रहेका पुराना स्याटलाइट इन्टरनेट नेटवर्कभन्दा सुरक्षित बनाएको छ । हालै क्यालिफोर्निया विश्वविद्यालय र मेरिल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले पुराना जिओ स्याटलाइट लिङ्कमा इन्क्रिप्सन नहुँदा गम्भीर सुरक्षा कमजोरी फेला पारेका थिए । ती कमजोरीका कारण ह्याकरले भीओआईपी कल, एसएमएस, लगइन विवरण र कर्पोरेट इमेलमा सहजै पहुँच बनाउन सक्ने जोखिम औँल्याइएको थियो । अमेजनले आफ्नो नयाँ प्रविधिमा यस्ता सुरक्षा चुनौतीलाई समाधान गर्ने विश्वास दिलाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ ११:५८