close

अबको ४ महिनामा सधैंका लागि बन्द हुँदै ‘गुगल असिस्टेन्ट’, के छन् तपाईंका स्मृति ?

टेकपाना टेकपाना

मंसिर ११, २०८२ ८:२७

अबको ४ महिनामा सधैंका लागि बन्द हुँदै ‘गुगल असिस्टेन्ट’, के छन् तपाईंका स्मृति ?

काठमाडौँ । गुगलले आफ्नो बहुचर्चित ‘गुगल असिस्टेन्ट’ सेवालाई सधैंका लागि बन्द गर्ने तयारी गरेको छ । करिब एक दशकदेखि एन्ड्रोइड प्रयोगकर्ताको साथी बनेको यो टुललाई अब एआईमा आधारित ‘जेमीनाई’ ले विस्थापित गर्ने भएको हो । 

गुगलको आधिकारिक एन्ड्रोइड अटो सपोर्ट फोरममा हालै देखिएको एक सूचना अनुसार गुगल असिस्टेन्ट मार्च २०२६ सम्म मात्र सञ्चालनमा रहनेछ । असिस्टेन्ट सेवा बन्द गर्ने विषयमा गुगलले सार्वजनिक गरेको अहिलेसम्मकै यो सबैभन्दा स्पष्ट समयसीमा हो ।

गुगलले एन्ड्रोइड फोन, एन्ड्रोइड अटो, वेर ओएस, गुगल टिभी लगायतका विभिन्न प्लेटफर्ममा असिस्टेन्टको सट्टा जेमिनाईलाई आफ्नो नयाँ डिजिटल हेल्परको रूपमा अघि सारेको छ । 

कम्पनीका अनुसार जेमिनाईले गुगल असिस्टेन्टले जस्तै कमान्ड बुझ्न सक्छ भने प्रयोगकर्ताले दिएका निर्देशन अनुसार सजिलै सहायता दिन सक्छ । मे २०१६ मा एलो ङ्गेसेजिङ एप र गुगल होम स्पिकरमार्फत सुरु भएको गुगल असिस्टेन्ट छोटो समयमै एन्ड्रोइड फोनको अभिन्न अङ्ग बनेको थियो । करिब १० वर्षको यो अवधिमा यसले गुगलको इकोसिस्टममा एक महत्वपूर्ण पहिचान बनायो ।

गुगल होम डिभाइस प्रयोगकर्ताका लागि असिस्टेन्टबाट जेमिनाईमा हुने यो परिवर्तन भने पूर्ण रूपमा सहज देखिएको छैन । धेरै प्रयोगकर्ताले अझै पनि एआई च्याटबट जेमिनाईभन्दा पुरानै गुगल असिस्टेन्टलाई रुचाएको पाइएको छ । यद्यपि गुगल तीव्र गतिमा जेमिनाईमा आधारित प्रविधितर्फ अघि बढिरहेकाले असिस्टेन्टको विदाइ अपरिहार्य देखिएको छ । 

हाल प्रयोगकर्तासँग गुगल असिस्टेन्ट र जेमिनाईमध्ये एउटा रोज्ने विकल्प उपलब्ध भए पनि मार्च २०२६ पछि भने यो विकल्प हट्नेछ । र, जेमिनाईले पूर्ण रूपमा यसको स्थान लिनेछ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ ९:४६