धनगढीमा नि:शुल्क शव चिस्यान सेवा प्रभावकारी, दुई वर्षमा ५५६ परिवारले पाए सहयोग
मंसिर १२, २०८२ ७:११
काठमाडौँ । धनगढी उपमहानगरपालिकाले विगत दुई वर्षको अवधिमा ५५६ भन्दा बढी परिवारलाई निःशुल्क शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराएको छ । २०८० मङ्सिर ११ गतेदेखि सुरु भएको यो अभियानमार्फत उपमहानगरले बिहीबारसम्म ५५६ ओटा शव सुरक्षित राख्न सहयोग पुर्याएको हो ।
घरमा कसैको मृत्यु हुँदा विदेश वा टाढा रहेका परिवारजन तथा इस्टमित्र अन्तिम संस्कारका लागि आइपुगुन्जेल शवलाई सुरक्षित राख्न उपमहानगरले यो सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।
पालिका प्रमुख गोपी हमालले विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकको अन्तिम पटक अनुहार हेर्न पाउन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको बताए । “आमा बुबालाई सुख दिन्छु भनेर विदेश गएका छोरा छोरीले बुबाआमाको अनुहार पनि हेर्न पाउँदैनन् । मृत्युलाई टार्न नसकेपनि अन्तिम पटक भएपनि अनुहार हेर्न पाउन् भनेर नि:शुल्क सेवा सुरु गरेका हौँ,” उनले टेकपानासँग भने ।
यसरी लिन सकिन्छ सेवा
उपमहानगरले सेवा प्रवाहका लागि २४सै घण्टा नगर प्रहरी परिचालन गरेको छ । नगरवासीले टोल फ्री नम्बर १८१०५००००९० तथा ०९१–५९०६९० मा सम्पर्क गरेर जानकारी गराउन सक्छन् ।
जानकारी प्राप्त हुनासाथ नगर प्रहरीले सानो ट्रकमार्फत शव चिस्यान मसिन सम्बन्धित घरसम्म पुर्याई जडान गरिदिने व्यवस्था छ । दाहसंस्कार सम्पन्न भएपछि प्रहरीले नै मसिन फिर्ता ल्याउने गरेका छन् ।
चिस्यान सेवाका अलावा उपमहानगरले शववाहनमार्फत घाटसम्म शव पुर्याउने, स्थायी बासिन्दालाई पाँच हजार रुपैयाँ काजक्रिया खर्च दिने र मृतकलाई सलामी अर्पण गर्ने कार्य समेत गर्दै आएको छ । हालसम्म नगर प्रहरीले ६५४ शवलाई घाटसम्म पुर्याइसकेको छ ।
सुरुवातमा दुई ओटा मसिनबाट थालिएको यो सेवा हाल ६ ओटा मसिनमार्फत उपमहानगरका १९ वटै वडामा विस्तार गरिएको छ । ८५ जनाको नगर प्रहरी टोलीले तीन सिफ्टमा खटिएर ‘हर घडी नगर प्रहरी’ नारासहित सेवा प्रवाह गरिरहेको नगर प्रहरी जवान नवराज पाण्डेले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ ७:३०
