हरेक पल स्क्रिनशट, हरेक शब्दमा सेन्सर, यस्तो छ उत्तर कोरियाबाट तस्करी गरिएको स्मार्टफोन
मंसिर १६, २०८२ १७:३३
काठमाडौँ । विश्वबाट एक्लिएको उत्तर कोरियाभित्रको प्रविधि र त्यहाँका नागरिकले प्रयोग गर्ने स्मार्टफोनको वास्तविकता कस्तो होला ? चर्चित टेक युट्युबर मिस्टरहुजदबोसले हालै उत्तर कोरियाबाट तस्करी गरिएका दुई ओटा दुर्लभ स्मार्टफोन ‘हेयाङ ७०१’ र फ्ल्यागशिप फोन ‘सामतेसङ ८’ (Samtaesung 8) को रिभ्यु गरेका छन् ।
२२ नोभेम्बरमा सार्वजनिक गरिएको भिडिओमा मिस्टरहुजदबोसले त्यहाँको कहालीलाग्दो डिजिटल नियन्त्रणको चर्चा गरेका हुन् । बाहिरी विश्वका लागि यी फोनको अस्तित्व नै थाहा नभएको अवस्थामा यी डिभाइसले उत्तर कोरियाली सरकारले आफ्ना नागरिकलाई कसरी नियन्त्रणमा राखेको छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरेका छन् ।
रिभ्यु गरिएका फोनमध्ये ‘सामतेसङ ८’ लाई उत्तर कोरियाको आईफोन वा फ्ल्यागशिप फोन मानिन्छ । यसको नामको अर्थ ‘तीन विशाल तारा’ हुन्छ । दक्षिण कोरियाली कम्पनी ‘सामसङ’ (तीन तारा) भन्दा आफूलाई ठुलो र शक्तिशाली देखाउने उत्तर कोरियाले यस्तो नाम राखेको हो ।
हेर्दा यो फोन सन् २०२१ को ह्वावेको मिड-रेन्ज फोनजस्तै देखिन्छ । र यसको डिजाइन, क्यामेरा मोड्युल र सफ्टवेयरका धेरै पक्ष ह्वावे वा अन्य चिनियाँ कम्पनीबाट हुबहु नक्कल गरिएको युट्युबरले पाएका छन् । “सामतेसङ ८ को सबै पक्ष ह्वावे नोभा नाइनसँग मिल्छ,”
मिस्टरहुजदबोस भन्छन्, “हामीले आईएमईआई नम्बर पनि हाइड गरेको पायौं । ट्रेस गर्दा यो फोन चीनमा बनेको जस्तो देखिन्छ ठ्याक्कै ह्वावे जस्तै । यसमा दुई ओटा आधार देखिन्छ । कि ह्वावेले यो फोन गोप्य रूपमा उत्तर कोरियाका लागि बनाइरहेको छ कि सामतेसङले सबै ह्वावेबाट कपी गरेको हो । यसमा भएका सबै कन्टेन्ट, सबै पक्ष कपी गरिएका छन् । त्यस्तोमा फोन पनि कपी नगरिएको भन्न कसरी सकिएला र ?”
फोनको क्यामेरामा राखिएको वाटरमार्कले यसका पार्टपुर्जा चिनियाँ कम्पनी ‘हइनिट्रोन’ बाट ल्याइएको संकेत गर्छ । यद्यपि फोनको प्रविधि निकै पुरानो छ । यी फोन अझै पनि पाँच वर्ष पुरानो एन्ड्रोइड भर्सन (एन्ड्रोइड १०) मा चलिरहेका छन् र यसमा हार्डवेयरको गुणस्तर निकै कमजोर छ । खिचेको फोटोमा पनि वाटरमार्क देखिन्छ भने क्यामेराका सबै फिचर प्रभावकारी रूपमा काम गर्दैनन् । यी दुवै फोनमा भएका क्यामेराको सङ्ख्या १ भन्दा बढी छ, तर तिनको कुनै तुक छैन ।
फोनको सबैभन्दा डरलाग्दो पक्ष यसमा रहेको सेन्सरशिप र निगरानी प्रणाली हो । यी फोनमा केही टाइप गर्दा सरकारको कडा निगरानी हुन्छ । उदाहरणका लागि यदि कसैले ‘नामहान’ (दक्षिण कोरिया) लेख्न खोज्यो भने स्पेस थिच्नेबित्तिकै त्यो शब्द ‘कठपुतली राज्य’ (पपेट स्टेट) मा परिवर्तन हुन्छ । दक्षिण कोरियाको औपचारिक नाम लेख्दा ‘एस्ट्रिक्स **’ बनेर लुक्छ । अझ रोचक कुरा त के छ भने उत्तर कोरियालाई जनाउन ‘जोसोन’ बाहेक अन्य शब्द प्रयोग गर्न पाइँदैन । प्रयोगकर्ताले त्यहाँका तानाशाह ‘किम जोङ उन’ को नाम टाइप गर्नासाथ त्यो शब्द आफैँ बोल्ड हुन्छ । दक्षिण कोरियाली लवज वा अपशब्दलाई फोनले आफैँ सच्चाएर उत्तर कोरियाली ‘शुद्ध’ भाषामा परिवर्तन गरिदिन्छ ।
सबैभन्दा अनौठो कुरा त दक्षिण कोरियामा मायाले दाइ वा प्रेमीलाई बोलाउन प्रयोग गरिने शब्द ‘ओप्पा’ टाइप गर्दा फोनले त्यसलाई ‘कमरेड’ मा बदलिदिन्छ र स्क्रिनमा ‘यो शब्द दाजुभाइका लागि मात्र प्रयोग गर्न पाइन्छ’ भन्ने वार्निङ मेसेज देखिन्छ ।
इन्टरनेटको कुरा गर्दा यीमध्ये हेयाङ ७०१ मा वाई-फाईको अप्सन छ । तर, देखावटी मात्र । यसमा ट्याप पनि हुँदैन । सेटिङ्समा पनि वाई-फाईको अप्सन देखिन्छ । तर, त्यसलाई पनि केही गर्न सकिंदैन ।
सामतेसङ ८मा वाई-फाईको बटन नै छैन । नागरिकले ‘मिरे’ नामको सरकारी इन्ट्रानेट मात्र प्रयोग गर्न पाउँछन् । यसका लागि सरकारी परिचयपत्र र आधिकारिक तवरबाट जारी गरिएको विशेष सिम कार्ड चाहिन्छ । “र यति गर्दा पनि, तपाईं इन्टरनेटको पहुँचमा भने पुग्नुहुन्न,” मिस्टरहुजदबोस भन्छन्, “वास्तवमा उत्तर कोरियाली नागरिकका लागि त्यसो गर्ने कुनै उपाय नै छैन । यसबाट पाइने भनेको केवल उत्तर कोरियाको अति नियन्त्रित ‘इन्ट्रानेट’ मा एक्सेस मात्र हो जहाँ तपाईंले सरकारद्वारा स्वीकृत टिभी, समाचार, प्रोपोगान्डा (प्रचार सामग्री) र एप मात्र हेर्न सक्नुहुन्छ ।”
उनी अगाडि भन्छन्, “अहिलेको लागि बुझ्नुपर्ने मुख्य कुरा के हो भने यो अनुभव खासै राम्रो हुने देखिँदैन । एपले नै तपाईंलाई २ देखि ३३ मेगाबिट प्रति सेकेन्डको स्पिडको अपेक्षा गर्न भन्छ । यो दक्षिण कोरियालीले सार्वजनिक वाई-फाईमा पाइरहेको गतिको १४ भागको १ भाग भन्दा पनि कम हो ।”
मिस्टरहुजदबोसका अनुसार फोनमा एपको प्रयोग पनि सामान्य छैन । प्रयोगकर्ताले आफैँ एप डाउनलोड गरेर चलाउन पाउँदैनन् । यसका लागि भौतिक रूपमै पसलमा गएर एपलाई आधिकारिकता दिनुपर्छ । अझ अचम्मको कुरा उत्तर कोरियामा एपको म्याद सकिन्छ र तिनलाई निरन्तर चलाउन पैसा तिरिरहनुपर्छ । फोनमा पहिले नै इन्स्टल भएका धेरै एपका आइकन गुगल, ह्वावे, माइक्रोसफ्ट र अन्य विदेशी कम्पनीबाट कपी गरिएका छन् । मनोरञ्जनका लागि राखिएका भिडिओ पनि विदेशबाट कपी गरी एडिट गरिएका छन् ।
उदाहरणका लागि फुटबलको एउटा गेममा दक्षिण कोरियाका चर्चित खेलाडी सन ह्युङ-मिनलाई टिमबाटै हटाइएको छ भने अमेजन प्राइमको डकुमेन्ट्रीलाई उत्तर कोरियाली ब्यानरमा देखाइएको छ । फोनमा रुसी र भारतीय फिल्म उपलब्ध भए पनि पश्चिमा वा दक्षिण कोरियाली सामग्री पूर्ण रूपमा निषेधित छन् ।
सबैभन्दा खतरनाक पक्ष भनेको ‘रेड फ्ल्याग’ नामको जासुसी सफ्टवेयर हो । फोनको सिस्टमभित्रै लुकेको हुन्छ । यसले प्रयोगकर्ताले फोनमा के गरिरहेको छ भनेर निरन्तर निगरानी गर्छ । यो सफ्टवेयरले फोन प्रयोग भइरहेको बेला आफैँ स्क्रिनशट लिन्छ र एउटा फोल्डरमा जम्मा गर्छ । प्रयोगकर्ताले ती स्क्रिनशट हेर्न त सक्छन् तर डिलिट गर्न वा खोल्न सक्दैनन् ।
बाहिरी देशको फाइल वा भिडिओ फोनमा हाल्न खोजेमा यो सिस्टमले त्यसलाई सपोर्ट गर्दैन र डिलिट गरिदिन्छ । यी फोन सञ्चारका लागि भन्दा पनि नियन्त्रणका लागि बनाइए जस्तो देखिने मिस्टरहुजदबोसको रिभ्युले देखाउँछ । यस विषयमा मिस्टरहुजदबोस भन्छन्, “सन् २०२० देखि उत्तर कोरियामा यस्तो कानुन छ जहाँ दक्षिण कोरियाली मनोरञ्जन सामग्री हेर्ने वा वितरण गर्नेलाई मृत्युदण्डसम्मको सजाय हुन सक्छ । यसलाई लागूपदार्थ ओसारपसार जत्तिकै गम्भीर अपराध मानिन्छ । यी डिभाइसको हरेक अङ्क अर्थात् तपाईंले टाइप गर्न पाउने शब्ददेखि हेर्न पाउने भिडिओसम्म एउटै भाष्यलाई बलियो बनाउन डिजाइन गरिएको देखिन्छ ।”
पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ १९:१२
