काठमाडौँ । नेपाल टेलिकमको मोबाइल डेटा सेवामा समस्या देखिएको छ । टेलिकमको नेटवर्कमा मोबाइल डेटा (इन्टरनेट) नचल्दा काठमाडाैँसहित विभिन्न ठाउँका प्रयोगकर्ता प्रभावित भएका छन् ।
मंगलबार अपराह्न करिब साढे ५ बजेयता सेवा नचलेको भन्दै प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । मोबाइलमा डेटा अन गर्दा पनि इन्टरनेट कनेक्सनको सङ्केत देखिएको छैन ।
टेकपानाले गरेको परीक्षणका क्रममा टेलिकमको सिमबाट भ्वाइस कल (फोन) लागिरहेको भए पनि डेटा सेवा अवरुद्ध रहेको पाइएको छ । सेवा अवरुद्ध हुनुको कारणबारे बुझ्न नेपाल टेलिकमका प्रवक्तासँग सम्पर्क गर्ने प्रयास गरिए पनि सफल हुन सकेन ।
कम्पनीले अहिलेसम्म मोबाइल सेवामा देखिएको समस्याबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ १९:१४
