१६ वर्षसम्म एकै दर्जामा रहेका प्राविधिक समूहका सशस्त्र प्रहरी जवानहरूको बढुवा
मंसिर १७, २०८२ १४:४१
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन–२०८२’ स्वीकृत भई कार्यान्वयनमा आएसँगै लामो समयदेखि रोकिएको कर्मचारीहरूको वृत्तिविकासको बाटो खुलेको छ । यो प्रतिवेदन कार्यान्वयनमा आउँदा प्राविधिक समूहका १९२ जना सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकास सम्बोधन भएको हो ।
नयाँ संरचना अनुसार करिब १५ देखि १६ वर्षसम्म एउटै दर्जामा रहेर कार्य गरिरहेका प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका प्राविधिक सशस्त्र प्रहरी जवानहरूले बढुवा प्राप्त गरेका छन् । लामो समयदेखि एउटै पदमा रहँदा उनीहरूको वृत्तिविकास रोकिएको थियो ।
प्रतिवेदन स्वीकृत भएपछि सशस्त्र प्रहरी बलमा हाल रिक्त रहेका २८ सयभन्दा बढी विभिन्न पदहरूमा पनि पदपूर्तिको बाटो खुलेको छ । संगठनले रिक्त रहेका अन्य पदहरूमा समेत क्रमशः बढुवा प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ ।
यसैबिच, सशस्त्र प्रहरी बलले अनुशासन र आचरणलाई थप कडाइ गर्ने नीति लिएको छ । आचरण विपरीत कार्य गर्ने तथा सामाजिक सञ्जालको दुरुपयोग गरी गैरजिम्मेवार अभिव्यक्ति दिने कर्मचारीहरूलाई नियमानुसार कडा कारबाही गर्ने नीति अवलम्बन गरेको संगठनले जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १४:४१
