स्न्यापड्रागन ८ जेन ५ चिपसेट र ८३०० एमएएच ब्याट्रीसहित ‘वनप्लस एस सिक्स टी’ सार्वजनिक
मंसिर १८, २०८२ ९:४४
काठमाडाैँ । वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘वनप्लस एस सिक्स टी’ (OnePlus Ace 6T) सार्वजनिक गरेको छ । सुरुवाती चरणमा चीनमा सार्वजनिक यो स्मार्टफोन क्वालकमको पछिल्लो चिपसेट स्न्यापड्रागन ८ जेन ५’ (Snapdragon 8 Gen 5) चिपसेट प्रयोग गर्ने विश्वकै पहिलो फोन बनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा ‘वनप्लस १५ आर’ (OnePlus 15R) को नाममा आउने अपेक्षा गरिएको यो फोनमा कम्पनीले अहिलेसम्मकै ठुलो ब्याट्री र आधुनिक डिस्प्ले प्रविधि समावेश गरेको छ ।
वनप्लस एस सिक्स टीमा स्न्यापड्रागन ८ जेन ५ प्रोसेसरका साथै कम्पनीले विकास गरेको जी२ (G2) नेटवर्क चिप र छुट्टै डिस्प्ले चिप प्रयोग गरिएको छ । यसमा १६ जीबीसम्मको एलपीडीडीआर फाइभ एक्स (LPDDR5X) र्याम र १ टेराबाइटसम्मको यूएफएस ४.१ स्टोरेज क्षमता रहेको छ । तातोपन नियन्त्रण गर्न फोनमा सुधारिएको भ्यापर च्याम्बर कुलिङ सिस्टम राखिएको छ । जसले गेम खेल्दा फोनलाई चिसो राख्न मद्दत गर्छ ।
यसमा ६.८३ इन्चको १.५ के रेजोलुसन भएको एमोलेड डिस्प्ले छ । जसले १६५ हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ । १८०० निट्स ब्राइटनेस र डल्बी भिजन सपोर्ट गर्ने यो स्क्रिनलाई ओप्पो क्रिस्टल सिल्ड ग्लासले सुरक्षा प्रदान गरेको छ ।
फोनको सबैभन्दा बलियो पक्ष ब्याट्री हो । वनप्लसले यसमा ८,३०० एमएएच क्षमताको ब्याट्री राखेको छ । ठुलो ब्याट्री भए पनि यसलाई चार्ज गर्न १०० वाटको वायर्ड फास्ट चार्जिङ सुविधा दिइएको छ ।
फोटोग्राफीका लागि फोनको पछाडि डुअल क्यामेरा सेटअप छ । जसमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स९०६ मुख्य सेन्सर (ओआईएस सहित) र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स रहेको छ । सेल्फी र भिडिओ कलका लागि अगाडि १६ मेगापिक्सेलको क्यामेरा छ ।
एन्ड्रोइड १६ मा आधारित कलर ओएस १६ मा चल्ने यो फोनमा आईपी६९, अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर, वाई-फाई सेभेन, ब्लुटुथ ६.० जस्ता पछिल्ला फिचर छन् ।
चीनमा यो फोन फ्यान्टम ग्रीन, इलेक्ट्रिक पर्पल र फ्ल्यास ब्ल्याक रङमा उपलब्ध छ । यसको सुरुवाती मूल्य (१२/२५६ जीबी भेरियन्ट) २,५९९ चिनियाँ युआन (करिब साढे ५३ हजार रुपैयाँ) तोकिएको छ । सबैभन्दा महँगो १६ जीबी र्याम तथा १ टेराबाइट स्टोरेज मोडेलको मूल्य ३,८९९ युआन (करिब ८० हजार रुपैयाँ) रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि यो फोन चाँडै उपलब्ध हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १८, २०८२ ९:५८
