काठमाडौँ । एआई कम्पनी ओपनएआईले आफ्नो चर्चित च्याटबट च्याटजीपीटीमा हालै ‘ग्रुप च्याट’ सुविधा सार्वजनिक गरेको छ । केही समयअघि परीक्षणका रूपमा सुरु गरिएको यो सेवा नेपालसहित विश्वभरका लगइन गरेका प्रयोगकर्ताका लागि खुला गरिएको छ ।
यो नयाँ फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो एउटै कन्भर्सेसन (कुराकानी) मा २० जनासम्म अन्य व्यक्तिलाई जोड्न सक्नेछन् । यो सुविधा साथीभाइ, परिवार वा सहकर्मीहरूसँग मिलेर डिनरको योजना बनाउन, भ्रमणको तालिका तय गर्न वा कुनै प्रोजेक्टको रूपरेखा तयार पार्न निकै उपयोगी हुने कम्पनीको विश्वास छ ।
कसरी प्रयोग गर्ने ?
च्याटजीपीटी एपको माथिल्लो दायाँ कुनामा रहेको मानिसको चिन्ह आइकनमा क्लिक गरेर ग्रुप च्याट सुरु गर्न सकिन्छ । यसरी क्लिक गर्दा च्याटजीपीटीले हालको कुराकानीलाई नयाँ ग्रुपमा परिणत गर्छ र त्यहाँ प्रयोगकर्ताले लिंक शेयर गरेर अरूलाई इन्भाइट गर्न सक्नेछन् ।
ग्रुपमा जोडिँदा पहिलो पटक प्रयोगकर्ताले आफ्नो नाम, युजरनेम र फोटो राख्नुपर्ने हुन्छ । जसले गर्दा कसले मेसेज गरिरहेको छ भनेर चिन्न सजिलो हुनेछ ।
ओपनएआईले च्याटजीपीटीलाई कुराकानीको फ्लो बुझ्न सक्ने गरी तालिम दिएको बताएको छ । यसको अर्थ ग्रुपमा च्याटजीपीटीले आफैं कतिबेला बोल्ने र कतिबेला चुप लाग्ने भन्ने निर्णय गर्नेछ ।
यद्यपि, प्रयोगकर्ताले सिधै च्याटजीपीटीलाई मेन्सन गरेर जवाफ माग्न पनि सक्नेछन् । यसले मेसेजहरूमा इमोजीमार्फत रियाक्ट गर्ने र प्रोफाइल फोटोहरूको सन्दर्भ लिएर तस्बिरहरू बनाउन पनि सक्ने जनाइएको छ ।
गोपनीयताको हकमा, कम्पनीले प्रयोगकर्ताको व्यक्तिगत च्याटको ‘मेमोरी’ लाई ग्रुप च्याटमा प्रयोग नगर्ने र ग्रुप च्याटमा भएका कुराहरूबाट नयाँ मेमोरी पनि नबनाउने स्पष्ट पारेको छ ।
ग्रुप च्याटमा जवाफ दिनका लागि ‘जीपीटी-५.१ अटो’ मोडेलको प्रयोग गरिएको छ । यसले प्रयोगकर्तालाई उपलब्ध मोडेल र प्रम्प्टका आधारमा सबैभन्दा उपयुक्त जवाफ दिनेछ । प्रयोगकर्ताले ग्रुपको सेटिङमा गएर मानिसहरू थप्ने वा हटाउने, नोटिफिकेसन म्युट गर्ने र च्याटजीपीटीलाई 'कस्टम इन्स्ट्रक्सन' दिने जस्ता कार्य गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: मंसिर १८, २०८२ १५:२१
