close

५० आईटी उद्यमीलाई ‘स्केल अप’ तालिम दिइँदै, आवेदन खुल्यो

टेकपाना टेकपाना

मंसिर २०, २०८२ १४:४३

५० आईटी उद्यमीलाई ‘स्केल अप’ तालिम दिइँदै, आवेदन खुल्यो

काठमाडौँ । काठमाडौँमा ५० जना सूचना प्रविधि उद्यमीहरूलाई लक्षित गरी क्षमता विकाससम्बन्धी ‘स्केल अप’ तालिम सञ्चालन हुने भएको छ । खल्ती डिजिटल वालेटका सह–संस्थापक अमित अग्रवालको नेतृत्वमा आईटी उद्यमीहरूको व्यावसायिक सीप विकास गर्ने उद्देश्यले यो तालिम आयोजना गर्न लागिएको हो ।

आगामी डिसेम्बर १७ देखि २३ तारिखसम्म सञ्चालन हुने एक साता लामो यो तालिम डिल्लीबजारस्थित ड्रापर स्टार्टअप हाउसमा आयोजना हुनेछ ।

आयोजकका अनुसार तालिममा एआई, फाइनान्स, कानुनी प्रक्रिया, ब्रान्डिङ, सेल्स, उद्यमशीलता र इमोसनल इन्टेलिजेन्स लगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिनेछन् ।

तालिममा सहभागी हुन इच्छुक आईटी उद्यमीहरूले डिसेम्बर १० सम्म अनलाइन आवेदन दिन सक्नेछन् । छनोटमा परेका सहभागीहरूले पाँच हजार रुपैयाँ डिपोजिट गर्नुपर्नेछ । उक्त रकम तालिम सफलतापूर्वक पूरा गरेपछि फिर्ता गरिने अग्रवालले जानकारी दिए ।

नेपालको आईटी उद्योगको प्रवर्द्धनका लागि सुरु गरिएको यो अभियान अन्तर्गत देशका मुख्य ६ सहरमा गरी कुल ३०० जना उद्यमीलाई तालिम प्रदान गर्ने लक्ष्य राखिएको छ ।

अग्रवालले भने, “हामीले १६ वर्षको व्यावसायिक यात्रामा बटुलेका अनुभव र नेपालको प्रविधि क्षेत्रमा स्थापित अन्य उद्यमीहरूको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो कार्यक्रम ल्याएका हौँ । नयाँ टेक उद्यमीहरूले यी कुरा चाँडै सिक्दा आईटी क्षेत्रले छिट्टै फड्को मार्न सक्ने विश्वास लिएका छौँ ।”

हाल नेपालको आईटी बजार डेढ खर्ब रुपैयाँभन्दा बढीको रहेको र यसलाई पाँच गुणासम्म बढाउन सक्ने क्षमता रहेको औँल्याउँदै अग्रवालले त्यसका लागि दक्ष जनशक्ति र क्षमता विकासको आवश्यकता रहेको बताए । प्रशिक्षित ३०० जनाले भविष्यमा हजारौँलाई ज्ञान हस्तान्तरण गर्ने अपेक्षा आयोजकले राखेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८२ १४:४३