अष्ट्रेलियाको आईटी कमाइले नेपालमा क्रिकेट रङ्गशाला, अबको योजना- ‘विदेशिएकालाई घर फर्काउने’
मंसिर २१, २०८२ १०:३
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का कारण पछिल्लो समय क्रिकेटप्रेमीको ध्यान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्द्रित छ । त्रिवि मैदानमा जडान गरिएको नयाँ ‘फ्लड लाइट’ र रातिको समयसम्म चलिरहेको खेलले नेपाली क्रिकेटलाई नयाँ आयाम दिएको छ ।
यता त्रिवि मैदानमा एनपीएलको उत्साह चलिरहँदा रुपन्देहीमा निजी लगानीमा निर्माणाधीन ‘एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला’ को काम पनि अन्तिम चरणमा पुगेको छ । यो रङ्गशालामा भीआईपी र भीभीआईपी प्यारापिट तथा खेलाडी कक्ष निर्माणसँगै फ्लडलाइट जडानको काम सम्पन्न भइसकेको छ । एनपीएल सुरु हुनुअघि यही रङ्गशालामा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजले रात्रिकालीन अभ्यास खेल खेलेका थिए ।
यो सुविधासम्पन्न क्रिकेट मैदान अष्ट्रेलियामा आईटी कम्पनी सञ्चालन गरिरहेका विनोद कुँवरले निर्माण गरेका हुन् । सन् २०१९ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको ‘एक्स्ट्राटेक’ कम्पनीको आम्दानीबाटै यो रङ्गशाला बनिरहेको कुँवर बताउँछन् ।
के हो एक्स्ट्राटेक ?
‘एक्स्ट्राटेक’ एक आईटी तालिम प्रदायक कम्पनी हो । यसले विश्वविद्यालयबाट सैद्धान्तिक ज्ञान लिएका तर बजारको माग अनुसार प्रयोगात्मक ज्ञानको अभावमा रोजगारी नपाएका विद्यार्थीहरूलाई लक्षित गरी भोकेसनल (व्यावसायिक) कक्षा सञ्चालन गर्दै आएको छ । यहाँ विद्यार्थीलाई तालिम दिनुका साथै आईटी कम्पनीहरूमा रोजगारी खोजिदिने काम पनि गरिन्छ । कुँवरका अनुसार हाल एक्स्ट्राटेकबाट ३३ ओटा देशमा रहेका नेपालीसहित विभिन्न देशका विद्यार्थीहरूले तालिम लिइरहेका छन् ।
उनी भन्छन्, “संसारभरका विश्वविद्यालयहरू प्रयोगात्मकभन्दा बढी सैद्धान्तिक हुन्छन् । तर, कम्पनीहरूलाई डिग्रीभन्दा पनि काम गर्न सक्ने सक्षम जनशक्ति चाहिन्छ । एक्स्ट्राटेकलाई एउटा ‘ट्युसन सेन्टर’का रूपमा बुझ्दा पनि हुन्छ । हामीले विद्यार्थीलाई तालिम सकेर काममा गएको पहिलो दिनदेखि नै सहजै काम गर्न सक्ने गरी पाठ्यक्रम (Course) डिजाइन गरेका छौँ ।”
कुँवरका अनुसार आईटी क्षेत्रमा भविष्य खोज्ने जोकोहीले यहाँ तालिम लिन सक्छन् । विश्वविद्यालयमा आईटी पढेका तर अनुभव नभएका, नेपालमा काम गरिसकेका तर विदेशी कम्पनीमा अवसर खोजिरहेका वा आईटी क्षेत्रबारे कुनै जानकारी नै नभएका व्यक्तिहरूलाई पनि एक्स्ट्राटेकले तालिम प्रदान गर्दै आएको छ ।
यहाँ क्लाउड कम्प्युटिङ, नेटवर्किङ सिस्टम, साइबर सुरक्षा, डिजिटल मार्केटिङ, डेटा एनालिसिस, बिजनेस एनालिसिस, प्रोग्रामिङलगायतका विषयमा तालिम दिइने कुँवरले जानकारी दिए ।
कसरी बन्यो रङ्गशालाको योजना ?
एक्स्ट्राटेकबाट तालिम लिएर रोजगारी पाएका व्यक्तिहरूसँग मिलेर कुँवरले पाँच वर्षअघि नेपालमा प्रभावकारी काम गर्ने योजना बनाएका थिए । यसका लागि विदेशमा बसेर आईटी क्षेत्रमा काम गरिरहेका १०० जनाको समूह मिलेर ‘द हन्ड्रेड’ (The Hundred) परियोजना सुरु गरिएको थियो ।
यस परियोजनाअन्तर्गत नेपालमा आईटीसम्बन्धी प्रयोगात्मक कलेज स्थापना गर्ने, प्रविधिको प्रयोगबाट उपचार हुने अस्पताल खोल्ने र क्रिकेट रङ्गशाला बनाउने योजना थियो ।
कुँवर भन्छन्, “यी परियोजनामा ठुलो लगानी आवश्यक पर्ने भएपछि साथीहरू घट्दै गए । १०० बाट ५०, २० हुँदै अन्त्यमा म एक्लै भएँ । तर, मेरो बानी एकपटक वाचा गरेपछि पूरा गरेरै छाड्ने खालको छ । त्यसैले एक्लै भए पनि काम सुरु गरेँ । जसमध्ये रङ्गशाला निर्माणको योजना सबैभन्दा लोकप्रिय बन्यो ।”
भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको गौतमबुद्ध रङ्गशाला अलपत्र परिरहेको र सरकारको ध्यान पनि नपुगेको अवस्थामा आफैँले सुविधायुक्त रङ्गशाला बनाउने अठोट लिएको उनी बताउँछन् ।
आगामी माघ महिनासम्ममा रङ्गशाला पूर्ण रूपमा तयार हुने उनको आँकलन छ । रङ्गशाला निर्माण सम्पन्न हुँदा करिब ७५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । लगानीको प्रतिफल आउन लामो समय लाग्ने भए पनि राष्ट्रको आवश्यकता र क्रिकेटको भविष्य देखेर लगानी गरेको उनी बताउँछन् ।
हाल रङ्गशाला निर्माण र एक्स्ट्राटेकको नेपाल शाखा विस्तारका लागि कुँवर अष्ट्रेलिया-नेपाल आउजाउ गरिरहन्छन् । तर, अबको डेढ वर्षभित्र सधैँका लागि नेपाल फर्कने उनको योजना छ । नेपाल फर्किएपछि विदेशका आईटी कम्पनीमा काम गरिरहेका नेपालीलाई लक्षित गरी ‘घर फर्क अभियान’ चलाउने र नेपालमै आकर्षक तलबसहितको रोजगारी दिलाउने उनको लक्ष्य छ ।
नेपालमा बसेर विभिन्न देशका विद्यार्थीलाई आईटी तालिम दिने र नेपालबाटै अन्तर्राष्ट्रिय स्तरको काम गर्ने वातावरण बनाउने योजना उनले बुनेका छन् । नेपालमा जनशक्ति कम लागतमा पाइने भएकाले अन्तर्राष्ट्रिय बजारको तुलनामा सस्तो शुल्कमा कक्षा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
उनी भन्छन्, “अमेरिकामा हामीले आईटी तालिमका लागि दुई लाख ७० हजार रुपैयाँ लिने गरेका छौँ । नेपालमा बसेर त्यही तालिम दिँदा १ लाख ५० हजार रुपैयाँमै सम्भव हुन्छ । यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि आकर्षित गर्नेछ ।”
नेपाल फर्किएर एक्स्ट्राटेक कम्पनीसँगै आईटी कलेज र अस्पताल बनाउने सपना पनि पूरा गर्ने कुँवरको योजना छ ।
पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १०:३
