close

डिशहोमको ‘खुशी’ नामक भ्वाइस एआई सार्वजनिक, ग्राहकसँग नेपाली भाषामै दोहोरो संवाद गर्ने

टेकपाना टेकपाना

मंसिर २१, २०८२ १७:४९

डिशहोमको ‘खुशी’ नामक भ्वाइस एआई सार्वजनिक, ग्राहकसँग नेपाली भाषामै दोहोरो संवाद गर्ने

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले दुईतर्फी संवाद गर्न सक्ने भ्वाइस एआई ‘खुशी’ सार्वजनिक गरेको छ । ग्राहक सेवालाई थप प्रभावकारी, डिजिटल र छरितो बनाउने उद्देश्यले कम्पनीले यो नयाँ प्रविधि सञ्चालनमा ल्याएको हो ।

यो एआई प्रविधिले स्थानीय सन्दर्भ र उपयोगितालाई आधार मानी नेपाली भाषामै मानिसको जस्तै आवाजमा ग्राहकसँग निरन्तर संवाद गर्न सक्ने कम्पनीले जनाएको छ । ‘खुशी’ ले विशेष गरी सेवा निष्क्रिय भएका ग्राहकलाई सम्पर्क गरी पुनःनवीकरणका लागि आग्रह गर्ने, कम्पनीका अफरहरूबारे जानकारी दिने तथा ग्राहकको प्रतिक्रिया, सुझाव र गुनासो सङ्कलन गरी सम्बन्धित विभागसम्म पुर्‍याउने काम गर्नेछ ।

कम्पनीका अनुसार कुराकानीका क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया (सेन्टिमेन्ट एनालाइसिस) विश्लेषण गरी प्रतिवेदन तयार पार्ने क्षमता समेत यो एआईमा रहेको छ । त्यस्तै, नेटवर्कमा प्राविधिक समस्या आउँदा वा सेवा अवरुद्ध हुँदा ग्राहकले सम्पर्क गर्दा यसले समस्याको कारण, समाधान लाग्ने अनुमानित समय र प्रगति विवरणबारे स्वचालित रूपमा जानकारी दिनेछ ।

डिशहोमले आगामी चरणमा ‘खुशी’ लाई ग्राहकको विवरण प्रमाणीकरण (केवाईसी) गर्ने र स्वचालित रूपमा डेटाबेस अद्यावधिक गर्ने काममा प्रयोग गर्ने योजना बनाएको छ । साथै, जडान तथा मर्मतसम्भारका लागि ग्राहकसँग सम्पर्क गरी समय व्यवस्थापन गर्ने काममा पनि यसको प्रयोग गरिनेछ ।

हाल फेसबुक मेसेन्जर र वेबच्याटमा उपलब्ध च्याटबटमा पनि यसलाई एकीकृत गरिँदै छ भने भविष्यमा ह्वाट्सएप र भाइबरमा समेत विस्तार गरिने कम्पनीले जानकारी दिएको छ । नेपाली भाषाको संवाद क्षमतालाई थप स्तरीय बनाउन डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान संस्थाहरूसँग सहकार्यको तयारी समेत गरिरहेको छ ।

यसअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड र ‘डिशहोम गो’ एपमार्फत नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण जस्ता प्रविधिमैत्री सेवाहरू सुरु गरिसकेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १८:४३