‘उज्यालो नेपाल पार्टी’बाट आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइन आवेदन माग
मंसिर २३, २०८२ १८:३०
काठमाडौँ । हालै घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूबाट अनलाइन आवेदन माग गरेको छ ।
पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको उम्मेदवारीका लागि खुला दरखास्त आह्वान गरेको हो । उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले २९ मंसिरभित्र आवेदन दिइसक्नुपर्नेछ ।
नेपाललाई समृद्ध बनाउने तथा रोजगारी सिर्जना गर्ने स्पष्ट योजना, क्षमता र दृढ संकल्प भएका स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिन सक्ने पार्टीले जनाएको छ ।
पार्टीले जारी गरेको सूचनाअनुसार, आवेदन दिँदा उम्मेदवारले आफ्नो जीवनी, भिजन, एजेन्डा र योजना स्पष्ट रूपमा खुलाउनुपर्नेछ । प्रत्यक्षतर्फ उम्मेदवारी दिन चाहनेले १६५ निर्वाचन क्षेत्रमध्ये आफू उठ्ने क्षेत्र र समानुपातिकतर्फका ११० सिटमा दाबी गर्नेले आफ्नो ‘क्लस्टर’ स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २३, २०८२ १८:३०
