close

२६०० भन्दा बढीलाई रोजगारी दिएको ‘नबिल एसएसई’ कार्यक्रम अझै ३ वर्षसम्म चल्ने

टेकपाना टेकपाना

मंसिर २४, २०८२ १०:१३

२६०० भन्दा बढीलाई रोजगारी दिएको ‘नबिल एसएसई’ कार्यक्रम अझै ३ वर्षसम्म चल्ने

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबिच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि सम्झौता नवीकरण भएको छ । यो सम्झौतासँगै सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम सन् २०२८ सम्म निरन्तर सञ्चालन हुने भएको छ ।

त्रिवि व्यवस्थापन संकायको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र संकायका डिन प्रा. डा. महानन्द चालिसेले नवीकरण सम्झौतामा हस्ताक्षर गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत चार वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनर्सिप (नबिल एसएसई) कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्झौता हस्ताक्षरपछि सीईओ ज्ञवालीले दुई संस्थाबिचको सहकार्यले सामाजिक उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनले भने, ‘नबिल बैंक स्थानीय अर्थतन्त्रमा मूल्य थप्ने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने पहलहरूमा सधैं साथ रहँदै आएको छ ।’

यस्तै, डिन प्रा. डा. चालिसेले त्रिविको पाठ्यक्रमलाई प्रयोगात्मक शिक्षातर्फ रूपान्तरण गर्न यो सहकार्य महत्वपूर्ण हुने बताए । उनले उद्योग र शैक्षिक क्षेत्रबिचको साझेदारीले गहिरो प्रभाव पार्ने भन्दै नबिल एसएसई यसको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे ।

नबिल एसएसईअन्तर्गत ‘फेलोसिप’ र ‘सर्टिफिकेट’ गरी दुई प्रकारका कार्यक्रम सञ्चालनमा छन् । छ महिना अवधिको फेलोसिप कार्यक्रम नवीन सोचमा काम गरिरहेका सामाजिक उद्यमीहरूका लागि लक्षित छ, जसमा प्रशिक्षण, मेन्टरसिप र वित्तीय पहुँचको सुविधा प्रदान गरिन्छ । त्यस्तै, तीन महिना अवधिको सर्टिफिकेट कोर्स सात ओटै प्रदेशका विभिन्न शैक्षिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।

बैंकका अनुसार विगत चार वर्षमा फेलोसिप कार्यक्रममा ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् । उनीहरूले ६२ ओटा उद्यम स्थापना गर्दा १४ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

त्यसैगरी, सर्टिफिकेट कोर्सबाट हालसम्म एक हजार ६९ उद्यमी लाभान्वित भएका छन् । यसबाट १३१ उद्यम स्थापना भई दुई हजार ६०० भन्दा बढीले रोजगारी पाएको बैंकले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १२:४१