काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको भन्दै प्रहरीले टिकट नभएका दर्शकलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान क्षेत्रमा नजान आग्रह गरेको छ । शनिबार सूचना जारी गर्दै जिल्ला प्रहरी परिसर भद्रकालीले टिकट नपाएका खेलप्रेमीलाई खेलस्थल बाहिर अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको हो ।
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, “टिकट नभएका सम्पूर्ण खेलप्रेमी महानुभावले आफ्नो अनुकूल स्थानमै रहेर खेल हेर्नुहुन तथा खेलस्थल बाहिर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा प्रहरीलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।”
प्रहरीले सुरक्षा व्यवस्थापनलाई चुस्त राख्न र नागरिक दायित्व निर्वाह गर्न सबैमा अपिल समेत गरेको छ । दोस्रो संस्करणको फाइनल खेलमा ट्रफीका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन् ।
बिहीबार बेलुका आठ बजे एनपीएलको टिकेटिङ पार्टनर एप खल्तीले टिकेट खोलेको थियो । तर, त्यसको केही समयमै टिकेट सोल्ड आउट भएको सूचना आएको थियो । सामाजिक सञ्जालमा प्रयोगकर्ताले जति प्रयास गर्दा पनि टिकट खरिद गर्न नसकेको गुनासो गरेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ ११:२७
