किन यतिसाह्रो भाइरल बनिरहेको छ फ्लिप्पराचिको म्युजिकमा अक्षय खन्ना नाचेको भिडिओ क्लिप ?
पुस १, २०८२ १८:८
काठमाडौँ । बलिउड अभिनेता अक्षय खन्नाको फिल्म धुरन्धरमा समावेश एक भिडिओ क्लिप यतिबेला सामाजिक सञ्जालमा ठुलो चर्चाको विषय बनेको छ । यो क्लिप फिल्ममा उनले निभाएको पात्र रहमान डकैतको इन्ट्री सिन हो, जसलाई दर्शकहरूले अत्यधिक मन पराएका छन् ।
उनको अभिनयको सहजता, फरक शैलीको म्युजिक र पारिवारिक विरासतको संयोगलाई यो भिडिओ भाइरल हुनुको मुख्य कारण मानिएको छ । फिल्मका कोरियोग्राफर विजय गाङ्गुलीका अनुसार यो दृश्यको कुनै कोरियोग्राफी गरिएको थिएन ।
यो डान्स लेह लद्दाखमा छायाङ्कन गरिएको थियो । जहाँ अक्षय खन्नाले निर्देशक आदित्य धरलाई ‘म नाच्न सक्छु ?’ भनेर सोधेपछि उनी योजना बिना नै नाचेका थिए ।
गाङ्गुलीले यो प्रस्तुति एकै टेकमा सम्पन्न भएको र उनीहरूले यसले यति धेरै सफलता पाउला भन्ने कहिल्यै नसोचेको बताएका छन् । अक्षय खन्नाले गहन पात्र रहमान डकैतको भूमिकामा अचानक सहजता र गैरजिम्मेवार मनोवृत्ति देखाउँदा दर्शकहरूलाई यो दृश्य निकै आकर्षक लाग्यो ।
अक्षय खन्नाको चालमा प्रयोग गरिएको ब्याकग्राउन्ड म्युजिक FA9LA ले यो भिडिओमा छुट्टै पहिचान र ऊर्जा भरेको छ । उक्त गीत बहराइनी र्यापर फ्लिप्पराचि (हुसाम असीम) र डीजे आउटलले तयार पारेका हुन् ।
FA9LA शब्द बहराइनी अरबीको स्ल्याङ हो, फासला उच्चारण रहेको उक्त शब्दको अर्थ रमाइलो गर्ने समय भन्ने हुन्छ । यो ट्र्याकमा अरबी र्याप, खलिजी रिदम र भारतीय तबलाको मिश्रण छ । जसले यसलाई परम्परागत बलिउड गीत भन्दा फरक र विशिष्ट सुनिने बनाएको छ ।
अक्षय खन्नाको यो डान्स क्लिप बाहिर आएपछि सामाजिक सञ्जालमा उनका स्वर्गीय पिता अभिनेता विनोद खन्नाको सन् १९८९ को एक च्यारिटी कार्यक्रमको पुरानो भिडिओ पुन: देखा परेको छ । फ्यानहरूले अक्षय खन्नाको चाल, विशेष गरी हात र पाखुराको हाउभाउ विनोद खन्नाको नृत्य शैलीसँग मिल्दोजुल्दो भएको बताएका छन् ।
क्लिपलाई भाइरल बनाउन सेलिब्रिटीहरूको समेत भूमिका देखिएको छ । फिल्मका नायक रणवीर सिंहले आफ्नै इन्स्टाग्राम अकाउन्टमा यो क्लिप शेयर गरेका छन् । नयाँ पुस्ताका प्रयोगकर्ताहरूले अक्षय खन्नाको ‘आइकनिक स्टेप’ लाई क्रिकेट स्टार विराट कोहली र रोहित शर्माले सन् २०२४ को टी२० विश्वकप जितको खुसी मनाउने क्रममा गरेको नाचसँग पनि जोडेका छन् ।
यो क्लिपमा खन्नाको नृत्यको चाल सरल र नक्कल गर्न पनि सजिलो छ । यसले पनि टिकटक र इन्स्टाग्राम रिल्स जस्ता प्लेटफर्महरूमा भिडिओ बनाउन धेरैले रमाइलो मानिरहेका छन् ।
पछिल्लो अध्यावधिक: पुस १, २०८२ १८:८
