मेटाले चिनियाँ कम्पनीका स्क्याम विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको खुलासा
पुस ३, २०८२ १७:१५
काठमाडौँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाले प्रतिबन्धित तथा ठगीपूर्ण विज्ञापनबाट अर्बौं डलर आम्दानी गरेको तथ्य बाहिर आएको छ । रोयटर्सले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मेटाले चिनियाँ कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा विज्ञापन गर्न दिएर गत वर्ष (सन् २०२४) मा १८ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको थियो, जुन कम्पनीको कुल विश्वव्यापी आम्दानीको १० प्रतिशतभन्दा बढी हो ।
उक्त रकममध्ये तीन अर्ब डलरभन्दा बढी रकम स्क्याम (ठगी), अवैध जुवा, अश्लील सामग्री र अन्य प्रतिबन्धित सामग्रीका विज्ञापनबाट प्राप्त भएको रोयटर्सले खुलाएको छ । रिपोर्ट अनुसार मेटाका इन्जिनियरिङ, वित्त, लबिङ र सुरक्षा विभागहरूबाट प्राप्त विगत चार वर्षका आन्तरिक कागजातहरूले कम्पनीले आफ्नो आयमा असर पर्ने डरले यस्ता समस्या समाधान गर्न आनाकानी गरेको देखाएको छ ।
चीनमा मेटाका प्लेटफर्महरू (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) प्रतिबन्धित भए पनि त्यहाँको सरकारले कम्पनीहरूलाई विदेशी उपभोक्ताहरूका लागि विज्ञापन गर्न अनुमति दिने गरेको छ । रोयटर्सले अध्ययन गरेका कागजातहरू अनुसार, मेटाका प्लेटफर्महरूमा देखिने २५ प्रतिशत ठगी र प्रतिबन्धित सामग्रीका विज्ञापनहरू चीनबाटै आउने गरेका छन् ।
गत वर्ष मेटाका कर्मचारीहरूले बढ्दो जोखिम कम गर्न ठुलो लगानी आवश्यक रहेको बताएपछि कम्पनीले चीनबाट हुने ठगी विज्ञापन निगरानी गर्न एक एन्टी-फ्रड (एन्टी-फ्रड) टोली गठन गरेको थियो । जसका कारण यस्ता विज्ञापनबाट हुने राजस्व १९ प्रतिशतबाट घटेर ९ प्रतिशतमा झरेको थियो ।
तर, सन् २०२४ को अन्त्यतिर लिक भएको एक कागजातले मेटाका मालिक मार्क जुकरबर्गले चीनमा केन्द्रित उक्त टोलीलाई काम रोक्न निर्देशन दिएको खुलासा गरेको छ । त्यसपछि कम्पनीले सो टोली विघटन गर्दै चिनियाँ विज्ञापन एजेन्सीहरूमाथिको प्रतिबन्ध हटाएको थियो । यसको केही महिनामै मेटाको ठगी विज्ञापनबाट हुने आम्दानी पुनः बढेर कुल विज्ञापन आयको १६ प्रतिशत पुगेको छ ।
यस विषयमा मेटाका प्रवक्ता एन्डी स्टोनले चिनियाँ विज्ञापन ठगी रोक्न गठन गरिएको टोली अस्थायी मात्र भएको प्रतिक्रिया दिएका छन् । उनले जुकरबर्गले टोली विघटन गर्न नभई चीनसहित विश्वभर यस्ता गतिविधि कम गर्न प्रयास दोब्बर बनाउन निर्देशन दिएको दाबी गरेको रोयटर्सले लेखेको छ ।
मेटाले विगत १८ महिनामा चिनियाँ व्यवसायबाट आएका चार करोड ६० लाख विज्ञापन हटाएको र त्यस्ता एजेन्सीहरूसँग काम गर्न बन्द गरेको दाबी गरेको छ । यद्यपि, आन्तरिक कागजातहरूबारे सोधेका प्रश्नहरूको जवाफ मेटाले नदिएको रोयटर्सले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस ३, २०८२ १८:४०
