काठमाडौँ । टिकटकले अमेरिकामा सम्भावित प्रतिबन्धबाट बच्न र आफ्नो भविष्य सुरक्षित गर्न स्थानीय लगानीकर्ताहरूको समूहसँग आफ्नो अमेरिकी सम्पत्ति विक्री गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । टिकटकका सीईओ शो जी च्युले कर्मचारीहरूलाई पठाएको एक मेमो अनुसार सम्झौताले अमेरिकाका १७ करोडभन्दा बढी प्रयोगकर्ताहरूलाई यो प्लेटफर्म प्रयोग गरिरहन अनुमति दिनेछ ।
सम्झौता अन्तर्गत टिकटकको अमेरिकी एपलाई एउटा नयाँ जोइन्ट भेन्चर मार्फत सञ्चालन गरिनेछ । यो नयाँ कम्पनीमा ओराकल, सिल्भर लेक र एमजीएक्स गरी तीन लगानीकर्तासँग संयुक्त रूपमा ५० प्रतिशत स्वामित्व रहनेछ ।
टिकटकको चिनियाँ माउ कम्पनी बाइटड्यान्सको १९.९ प्रतिशत हिस्सा रहनेछ भने बाँकी करिब ३०.१% हिस्सा बाइटड्यान्सका विद्यमान लगानीकर्ताहरूसँग आबद्ध रहेका अन्य पक्षहरूको हुनेछ ।
अमेरिकी प्रयोगकर्ताहरूको डेटाको सुरक्षाका लागि ओराकलले सबै अमेरिकी प्रयोगकर्ताहरूको डेटा आफ्नै सर्भरमा स्टोर गर्ने र टिकटकको सिफारिस गर्ने 'एल्गोरिदम' को निगरानी गर्ने जिम्मेवारी पाएको छ । राष्ट्रिय सुरक्षाको चिन्तालाई सम्बोधन गर्न टिकटकको एल्गोरिदमलाई अमेरिकी प्रयोगकर्ताको डेटामा आधारित भएर पुनः प्रशिक्षित गरिनेछ ।
नयाँ बोर्डमा ६ जना अमेरिकी सदस्य र बाइटड्यान्सको तर्फबाट १ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । यो सम्झौता करिब १४ अर्ब डलर मूल्यको रहेको छ । यो मूल्य यसअघिको अनुमानित ३० देखि ४० अर्ब डलरको तुलनामा निकै कम हो ।
सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन २२ जनवरी, २०२६ सम्मको समयसीमा तय गरिएको छ । यद्यपि यो सम्झौतालाई अझै पनि चीन सरकारको आधिकारिक स्वीकृति र दुवै देशका नियामकहरूको अनुमति आवश्यक पर्नेछ ।
पछिल्लो अध्यावधिक: पुस ४, २०८२ १०:५३
