close

स्थानीय तहबाटै प्यान नम्बर वितरण सुरु, अनलाइनबाट पनि लिन सकिने

टेकपाना टेकपाना

पुस ९, २०८२ १४:११

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान) वितरण गर्ने कार्य सुरु भएको छ । आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालयहरू खारेज गर्ने नीति कार्यान्वयन गर्ने क्रममा स्थानीय तहबाटै सेवा प्रवाह गर्ने उद्देश्यले यो प्रक्रिया थालनी गरिएको हो ।

यसै सिलसिलामा बुधबार मोरङको केराबारी गाउँपालिकाले पहिलो पटक व्यावसायिक तथा व्यक्तिगत प्यान नम्बर प्रदान गरेको छ । विभागका अनुसार केराबारी गाउँपालिकाबाट 'दि भ्वाइस क्याफे एण्ड रेष्ट्रो' लाई व्यावसायिक र चित्रकुमार तामाङलाई व्यक्तिगत प्यान नम्बर उपलब्ध गराइएको छ ।

अर्थमन्त्रीको उपस्थितिमा केराबारी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुखबिच समझदारी पत्रमा हस्ताक्षर भएसँगै सेवा कार्यालयले गर्दै आएका कामहरू गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

स्थानीय तहबाटै करदाता सेवा उपलब्ध हुन थालेपछि उद्योगी, व्यवसायी, करदाता तथा अग्रिम आयकर कट्टी (टीडीएस) दाखिला गर्ने निकायहरूका लागि सेवा थप सहज र पहुँचयोग्य भएको विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागले आफ्नो सेवा प्रवाहलाई थप प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउँदै करदाताको नजिक पुर्‍याउने नीति लिएको छ । सेवा प्रवाहको वैकल्पिक व्यवस्था पूर्ण रूपमा नभएसम्मका लागि भने सम्बन्धित करदाता सेवा कार्यालयहरूबाट समेत नियमित सेवा सुचारु रहनेछ ।

मन्त्रिपरिषद्को गत १७ कात्तिकको निर्णयअनुसार करदाता सेवा कार्यालयहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो । हाल कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र लिने लगायतका धेरै सुविधाहरू अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयनमा छ ।

 

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १४:१४