close

जिकर एक्स ईभीमा एकैपटक २० लाख छुट, अब ६४.९९ लाखमा किन्न सकिने

टेकपाना टेकपाना

पुस ९, २०८२ १५:०

जिकर एक्स ईभीमा एकैपटक २० लाख छुट, अब ६४.९९ लाखमा किन्न सकिने

काठमाडौँ । नेपालका लागि जिकर ईभीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गर्दै ‘जिकर एक्स नाउ अर नेभर’ (Zeekr X Now or Never) अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ को मूल्यमा २० लाख रुपैयाँले कटौती गरेको छ ।

यसअघि ८४ लाख ९९ हजार रुपैयाँ बजार मूल्य रहेको यो गाडी सीमित अवधिका लागि ६४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा दिगो र लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकैपटक भारी छुट ल्याइएको पायोनियर मोटो कर्पले जनाएको छ ।

गिलीको अत्याधुनिक ‘एसईए२’ (SEA2) प्लेटफर्ममा आधारित यो ईभी भोल्भो इएक्स३० सँग साझा प्रविधिमा निर्माण गरिएको हो । जिकर एक्समा २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३४३ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसले मात्र ५.६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड दिने कम्पनीको भनाइ छ ।

सुरक्षा र प्रविधिलाई उच्च प्राथमिकता दिइएको यस गाडीले युरो एनसीएपी र ग्लोबल एनसीएपी दुवैमा फाइभ-स्टार रेटिङ प्राप्त गरेको छ । यसमा सात ओटा एयरब्याग र लेभल-टु को एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता सुरक्षा फिचर रहेका छन् ।

नेपाली सडकको अवस्थालाई मध्यनजर गर्दै १९१ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको यस गाडीमा ६६ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले एक पटकको फुल चार्जमा ४४० किलोमिटरसम्म (डब्लूएलटीपी) को रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसको इन्टेरियरमा १४.६ इन्चको स्लाइडिङ सेन्ट्रल स्क्रिन र १३ ओटा स्पिकरयुक्त यामाहा सराउण्ड साउन्ड सिस्टम समावेश छ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १५:४०