काठमाडौँ । टिकटकको स्वामित्व रहेको चिनियाँ प्रविधि कम्पनी बाइटड्यान्सको बजार मूल्याङ्कन निजी बजारमा ५०० अर्ब अमेरिकी डलर पुगेको छ । अमेरिकामा टिकटकलाई प्रतिबन्धबाट जोगाउन ल्याइएको सर्भाइभल प्लान अगाडि बढेसँगै कम्पनीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।
यस वर्षको सुरुतिर ४०० अर्ब डलर रहेको कम्पनीको मूल्याङ्कन अहिले ५०० अर्ब डलर पुग्नु बाइटड्यान्सका लागि आफैँमा एउटा नयाँ रेकर्ड हो । टिकटकका सीईओ शाउ जी च्युले कर्मचारीहरूलाई दिएको जानकारी अनुसार, कम्पनीले आफ्नो अमेरिकी एकाइलाई अमेरिकी लगानीकर्ताहरूको नियन्त्रणमा रहने गरी एउटा संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा लैजाने बाध्यकारी सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।
अमेरिकामा टिकटकको सञ्चालनका लागि टिकटक यूएसडीएस जोइन्ट भेन्चर नामक नयाँ संस्था स्थापना गरिनेछ । जुन २३ जनवरी २०२६ को सरकारी समयसीमा भन्दा एक दिन अगाडिदेखि लागु हुनेछ ।
ओराकल, सिल्भर लेक र आबुधाबीस्थित एमजीएक्ससहितका अमेरिकी तथा सहयोगी देशका लगानीकर्ताहरूको यसमा ५० प्रतिशत हिस्सा रहनेछ । यी तीन वटा प्रमुख लगानीकर्ताहरूको प्रत्येकको करिब १५ प्रतिशत स्वामित्व हुनेछ ।
बाइटड्यान्सले यस नयाँ उपक्रममा मात्र १९.९ प्रतिशत स्वामित्व कायम राख्नेछ । जबकि बाँकी ३०.१ प्रतिशत हिस्सा बाइटड्यान्सका वर्तमान लगानीकर्ताहरूसँग रहनेछ ।
विगतका वर्षहरूमा राजनीतिक दबाब र सुरक्षा चिन्ताका कारण बाइटड्यान्सको मूल्यमा उतारचढाव आएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेन दुवैले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकलाई निशानामा पारेका थिए ।
तर, नयाँ सम्झौताले लगानीकर्ताहरूलाई उत्साहित बनाएको छ । किनभने यसबाट बाइटड्यान्सले अमेरिकी बजारबाट निरन्तर आम्दानी गरिरहन पाउनेछ ।
पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १५:४६
