समुदायमै पुगेर पढ्न पाइने ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता’ स्नातकोत्तर कार्यक्रम
पुस ११, २०८२ १३:११
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र नेपाल कम्युनिभर्सिटीबिच ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता’ (Social Innovation and Entrepreneurship-MSIE) मा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा साझेदारी सम्झौता भएको छ । नेपालको वर्तमान आवश्यकता र युवाहरूको चाहनालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रलाई नयाँ ढङ्गले परिभाषित गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।
यस कार्यक्रमको मुख्य विशेषता ‘समुदाय नै पाठ्यक्रम’ (Community-as-Curriculum) भन्ने अवधारणा रहेको छ । यसअन्तर्गत विद्यार्थीहरूले परम्परागत कक्षाकोठामा बसेर नभई नेपालका तीनवटै भौगोलिक क्षेत्र हिमाल, पहाड र तराईमा भ्रमण, बसोबास र अध्ययन गर्दै सिक्नेछन् ।
विद्यार्थीले प्रत्येक क्षेत्रमा १०-१० हप्ता (एक–एक ट्राइमेस्टर) बिताउनेछन् । यस अवधिमा उनीहरूले स्थानीय समुदाय, सामाजिक उद्यम र भुइँतहका पहलहरूसँग प्रत्यक्ष जोडिएर नेपालको सामाजिक-आर्थिक यथार्थको अनुभव लिने बताइएको छ ।
सम्झौता समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा. अच्युत वाग्लेले शैक्षिक यात्राले विद्यार्थीलाई देशको भौगोलिक र सामाजिक यथार्थ बुझ्न मार्गनिर्देश गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, केयू स्कुल अफ आर्ट्सका डीन डा. उद्धव प्याकुरेलले अन्य कार्यक्रममा पनि फिल्डवर्क हुने भए तापनि यो कार्यक्रम विशिष्ट रहेको बताए । उनले तीन ओटा ट्राइमेस्टर नै हिमाल, पहाड र तराईमा बिताउनु विद्यार्थीका लागि सामाजिक यथार्थ बुझ्ने ठुलो अवसर हुने उल्लेख गरे ।
नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम अर्यालका अनुसार यो सामाजिक विज्ञान, प्रविधि र उद्यमशीलतालाई समेट्ने नेपालकै पहिलो अन्तरविषयगत (Interdisciplinary) स्नातकोत्तर कार्यक्रम हो । “यस कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आफूलाई गहिरो रूपमा बुझ्न, सामाजिक-राजनीतिक र आर्थिक गतिशीलताको विश्लेषण गर्न तथा उद्यमशील सोच विकास गर्न सक्षम हुनेछन्,” उनले भने ।
यस पाठ्यक्रमको अन्तिम सेमेस्टरमा विद्यार्थीले चार ओटा फरक विधाहरू (ट्र्याक) मध्ये एक रोज्न पाउनेछन्: प्राज्ञिक अनुसन्धान, आफ्नै व्यवसाय सुरु गर्ने उद्यमशीलता ट्र्याक, उद्योगमा परामर्शदाता (कन्सल्टेन्ट) का रूपमा काम गर्ने ट्र्याक वा अन्तर्राष्ट्रिय संस्थामा एक्सचेन्ज विद्यार्थी (Exchange Student) का रूपमा जाने ग्लोबल ट्र्याक ।
विद्यार्थीहरूलाई सहयोग गर्न गैरआवासीय नेपाली, स्थानीय उद्योगी र समुदायका सदस्यहरूलाई मेन्टर र विज्ञका रूपमा संलग्न गराइने अर्यालले बताइएको छ । सन् २०२६ को अक्टोबरदेखि सुरु हुने यस कार्यक्रमले परिवर्तनका संवाहक, उद्यमी, अनुसन्धानकर्ता र विभिन्न शैक्षिक पृष्ठभूमिका स्नातकहरूलाई आवेदनका लागि आह्वान गरेको छ ।
पछिल्लो अध्यावधिक: पुस ११, २०८२ १३:२७
