छिमेकीले होहल्लाको गुनासो गरेपछि मार्क जुकरबर्गले गिफ्ट दिए नोइज क्यान्सिलिङ हेडफोन
पुस ११, २०८२ १५:०
एआई सिर्जित तस्बिर
काठमाडौँ । मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्गले क्यालिफोर्नियाको पालो अल्टोस्थित आफ्नो भव्य आवास विस्तार गर्ने क्रममा उत्पन्न भएको छिमेकीहरूको आक्रोशलाई शान्त पार्न एउटा अनौठो जुक्ति निकालेका छन् । न्युयोर्क टाइम्सका अनुसार जुकरबर्गले वर्षौंदेखिको निर्माण कार्य र होहल्लाबाट वाक्क भएका आफ्ना छिमेकीहरूलाई शान्त पार्न उपहार स्वरूप 'नोइज क्यान्सिलिङ हेडफोन' दिएका हुन् ।
एक समयमा वकिल र प्राध्यापकहरूको शान्त बस्ती रहेको यो क्षेत्रमा अहिले निर्माण उपकरण र सुरक्षा गार्डहरूको कब्जा जस्तै छ । विगत ८ वर्षदेखि यहाँ निरन्तर निर्माण भइरहेको छ, जसले गर्दा सडक अवरुद्ध हुने र चर्को आवाज आउने समस्या रहेको गुनासो उनका छिमेकीहरूले गर्दै आएका छन् ।
जुकरबर्गले आफ्ना घरहरूमा यस्ता क्यामेराहरू जडान गरेका छन्, जसले छिमेकीहरूको निजी क्षेत्र समेत फ्रेममा पार्छ । साथै, उनका निजी सुरक्षा गार्डहरूले सार्वजनिक सडकमा हिँड्ने मानिसहरूलाई समेत सोधपुछ गर्ने गर्छन् । पार्टीको समयमा प्रहरीले सार्वजनिक सडकमा स्थानीयलाई पार्किङ गर्न निषेध गर्ने गरेको छ ।
निर्माणको चर्को आवाज र झन्झटको बदलामा जुकरबर्गले छिमेकीहरूलाई केवल हेडफोन मात्र होइन, महँगो 'स्पार्कलिङ वाइन' र 'क्रिस्पी क्रिम डुनट्स'का बक्सहरू समेत पठाउने गरेका छन् । यद्यपि, केही छिमेकीहरूले यी उपहारले आफ्नो हराएको शान्ति र गोपनीयता फिर्ता नदिने बताएका छन् ।
सन् २०१६ मा पालो अल्टोका अधिकारीहरूले एकैपटक चारवटा घर भत्काएर ठुलो कम्पाउन्ड बनाउने जुकरबर्गको प्रस्ताव अस्वीकार गरेका थिए । तर, जुकरबर्गले चलाखीपूर्वक एक-एक गर्दै घरहरू भत्काउने र पुन: निर्माण गर्ने प्रक्रिया अपनाएर कानुनी अड्चनहरू छलेका छन् ।
जुकरबर्गको घरजग्गा मोह पालो अल्टोमा मात्र सीमित छैन । हवाईमा उनको २,३०० एकडको जमिन, लेक टाहोमा घर र वाशिङ्टन डीसीमा २ करोड ३० लाख अमेरिकी डलरको बङ्गला समेत रहेको छ ।
जुकरबर्गले विगत १४ वर्षमा पालो अल्टोको 'क्रेसेन्ट पार्क' क्षेत्रमा कम्तिमा ११ वटा घर खरिद गरिसकेका छन् । यसका लागि उनले ११ करोड अमेरिकी डलर (करिब १६ अर्ब रुपैयाँ) भन्दा बढी खर्च गरेका छन् । उनले एउटै घरका लागि बजार मूल्यभन्दा दोब्बर वा तेब्बर बढी तिरेर छिमेकीहरूलाई घर छोड्न राजी गराएका थिए ।
जुकरबर्गले आफ्नो कम्पाउन्डभित्र धेरै विलासी र केही रहस्यमय संरचनाहरू बनाएका छन् । उनले जमिनमुनि ७ हजार वर्ग फिटको विशाल संरचना बनाएका छन्, जसलाई छिमेकीहरूले अर्बपतिको ब्याट केभ अर्थात बङ्करको संज्ञा दिएका छन् । उनले आफ्नो कम्पाउन्डभित्र आफ्ना बच्चा र अन्य केहीका लागि एक निजी विद्यालय समेत सञ्चालन गरेका छन्, जुन स्थानीय जोनिङ नियम विपरीत रहेको बताइन्छ ।
यस क्षेत्रमा पाहुना घर, लस गार्डन, पिकलबल कोर्ट र हाइड्रोफ्लोर (पानी छोप्न मिल्ने भुइँ) भएको पौडी पोखरी रहेका छन् ।
पछिल्लो अध्यावधिक: पुस ११, २०८२ १५:५८
