विद्यार्थीलाई नकारात्मक असर परेको भन्दै विदेशी सम्बधनका कलेजमा ‘डीआई’ राख्न रोक
पुस १६, २०८२ ९:५०
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षण संस्थाहरूमा विद्यार्थीलाई अनुशासनका नाममा दबाब दिने ‘डिस्प्लिन इन्चार्ज’ (डीआई) राख्ने प्रथा तत्काल अन्त्य गर्न निर्देशन दिएको छ । कलेजहरूमा डीआईका कारण विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको गुनासो प्राप्त भएको भन्दै त्यस्तो व्यवस्था हटाएर विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्न ‘परामर्श कक्ष’ स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
यसका साथै, शैक्षिक शुल्कमा पारदर्शिता कायम गर्न मन्त्रालयले कलेजहरूले लिने सबै प्रकारका शुल्कको विवरण सार्वजनिक रूपमा देखिने गरी डिस्प्ले गर्न र सोको प्रमाणित प्रति १५ दिनभित्र मन्त्रालयमा बुझाउन अनिवार्य गरेको छ ।
मन्त्रालयले जारी गरेको निर्देशनअनुसार अब शिक्षण संस्थाहरूले छात्रवृत्ति वितरणलाई निष्पक्ष र पारदर्शी बनाउँदै सोको विवरण वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । साथै, प्रत्येक कक्षामा रहने विद्यार्थी सङ्ख्या, दैनिक पठनपाठनको तालिका र मन्त्रालयबाट अनुमति प्राप्त भएका शैक्षिक कार्यक्रमहरूको विवरण मात्र आफ्नो आधिकारिक वेबसाइटमा राख्न भनिएको छ ।
अर्को शिक्षण संस्थाका कार्यक्रमहरूलाई आफ्नो भनी भ्रामक प्रचार गर्न रोक लगाउँदै मन्त्रालयले विषयगत योग्यता र दक्षता भएका शिक्षकहरूबाट मात्र अध्यापन गराउन सचेत गराएको छ । यदि निर्देशिकाका सर्तहरू र मन्त्रालयसँग गरिएको कबुलियतनामा पालना नगरेको खण्डमा शिक्षण संस्थालाई दिइएको सञ्चालन अनुमति जुनसुकै बेला रद्द हुन सक्ने चेतावनी दिइएको छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १०:२७
