गगनसहितका नेताले चुनाव लड्न नपाउने पोस्ट भ्रामक पुष्टि भएपछि ‘इन डेप्थ स्टोरी’ले माग्यो माफी
पुस १६, २०८२ १६:३
काठमाडौँ । गगन थापालगायत अन्य राजनीतिज्ञलाई निर्वाचन आयोगले ‘कालो सूची’मा राखेकाले निर्वाचन लड्न नपाउने भन्ने दाबी भ्रामक पुष्टि भएपछि फेसबुक पेज ‘इन डेप्थ स्टोरी’ (आईडीएस) ले माफी मागेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पेजले आफ्नो त्रुटि स्वीकार गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “तथ्यको विस्तृत समीक्षा र प्रमाणीकरण गर्दा उक्त दाबी गलत र भ्रमपूर्ण रहेको पाइएको छ । वास्तविकता के हो भने, उक्त पोस्टमा प्रयोग गरिएको जानकारी वि.सं. २०८० (सन् २०२३) को पुरानो सूचीमा आधारित थियो । त्यो सूची निर्वाचन खर्च सार्वजनिक नगरेका कारण जरिवानामा परेका उम्मेदवारहरूको मात्र थियो । त्यो न त कुनै ‘ब्ल्याकलिस्ट’ (कालो सूची) थियो, न त त्यसले निर्वाचन लड्न स्थायी रूपमा रोक नै लगाएको थियो । तत्कालीन निर्वाचन आयोगको नेतृत्वलाई उद्धृत गर्दै गरिएको हाम्रो रिपोर्टिङ त्रुटिपूर्ण देखिएको छ, किनभने यस आधारमा मात्र कसैलाई निर्वाचन लड्नबाट वञ्चित गर्ने कुनै कानुनी प्रावधान छैन ।”
आईडीएसले विज्ञप्तिमा तत्कालीन निर्वाचन आयोगको नेतृत्वलाई उद्धृत गरेको उल्लेख गरे पनि उसको मूल पोस्टमा कुनै आधिकारिक स्रोत खुलाइएको थिएन । गगन थापालगायतका नेता कालो सूचीमा परेकाले आसन्न निर्वाचनमा सहभागी हुन नपाउने दाबी सबैभन्दा पहिले ‘अन्नपूर्ण पोस्ट’ले गरेको थियो । अन्नपूर्णको समाचारभित्र १,०४३ जनाको सूची भए पनि शीर्षकमा १,०८० जना उल्लेख गरिएको छ ।
वास्तवमा आयोगले तत्कालीन समयमा सार्वजनिक गरेको सूची ‘कालो सूची’ थिएन । उक्त सूचीको व्यहोरामा स्पष्ट लेखिएको थियो, “प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारलाई आयोगको मिति २०८०।०१।०४ को निर्णयानुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधिभित्र विवरण सार्वजनिक नगर्ने देहायबमोजिमका उम्मेदवारहरूलाई निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही रु. १५,००० (पन्ध्र हजार) रुपैयाँका दरले जरिवाना हुने ठहर्छ ।”
यही झन्डै दुई वर्ष पुरानो सूचीलाई आधार बनाएर अन्नपूर्णलगायतका केही सञ्चारमाध्यमले ‘कालो सूची’का रूपमा व्याख्या गरेका थिए । आईडीएसले पनि अन्नपूर्ण पोस्टकै समाचारलाई आधार बनाएर सामग्री पोस्ट गरेको देखिन्छ । १,०४३ जनाको सूचीलाई अन्नपूर्ण पोस्टले १,०८० उल्लेख गरेको त्रुटिपूर्ण तथ्याङ्कलाई नै आईडीएसले पनि पछ्याएको थियो । यसबारे मुख्य दाबीकर्ता अन्नपूर्ण पोस्ट भने अझै मौन छ ।
पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १६:५८


