close

बालाजु क्षेत्रमा ७७ ओटा एआईयुक्त अल्ट्रा एचडी सीसीटिभी जडान, नेपाल टेलिकमको फाइबर इन्ट्रानेटबाट चल्ने

टेकपाना टेकपाना

पुस १६, २०८२ १७:१६

बालाजु क्षेत्रमा ७७ ओटा एआईयुक्त अल्ट्रा एचडी सीसीटिभी जडान, नेपाल टेलिकमको फाइबर इन्ट्रानेटबाट चल्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले बालाजु क्षेत्रमा राखेका ७७ ओटा सीसीटिभी क्यामेरामा फाइबर इन्ट्रानेटमा जडान गरेको छ । नेपाल टेलिकमसँगको सहकार्यमा फाइबरबाट जडान गरिएका सीसीटिभी क्यामेराका दृश्यहरू वडा कार्यालयमा राखिएको मोनिटरमा हेर्न मिल्ने बनाइएको छ । 

बुधबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नवीन मानन्धर र वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले संयुक्त रुपमा प्रणाली शुभारम्भ गरे । यसका लागि वडाले करिब एक करोड रुपियाँ खर्चिएको छ । 

“यस प्रकारको प्रणाली सम्भवतः नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । यही प्रणालीलाई महानगरपालिकाभित्र सबैतिर विस्तार गर्दैछौँ । वडाको भौगोलिक क्षेत्रभित्रका लागि दुई सय ओटा क्यामेरा आवश्यक छन् । चरणबद्धरूपमा हामी यी क्यामेरा जडान गर्नेछौँ,” वडाअध्यक्ष तिवारीले भने । 

सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिको दिगो पूर्वाधार निर्माण गर्ने तथा सुरक्षा निकायसँग सहकार्य गर्ने योजना रहेको उनको भनाइ छ । 

महानगरको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार सहरभित्रका सीसीटिभी क्यामेराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भेलियन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । वडा नम्बर ३० मा प्रणाली जडान भइसकेको र वडा नम्बर ३२ को बोलपत्र आव्हान हुने चरणमा रहेको उनले जानकारी दिए । यस्तै, वडा नं. १४ को बोलपत्र आह्वान भइसकेको र वडा नं. ३ को बोलपत्र निकाल्ने चरणमा रहेको बताए । 

यसरी प्रणाली विकास भइसकेपछि तार चुँडिएर क्यामेरा नचल्ने तथा काम नलाग्ने हुने, विगतको समस्या पूर्ण रुपमा समाधान हुने महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाको गौरव योजना ‘महानगरपालिकाले देख्छ’ कार्यक्रमका पाँच ओटा प्याकेज मूल्याङ्कन चरणमा छन् । 

नेपाल टेलिकमका उपप्रबन्धक इञ्जिनियर निर्मलराज चटौतले महानगरपालिकाले हरेक सीसीटिभी क्यामेरालाई फाइबर सञ्जालमा जोडेर निगरानी कक्षमा लैजान टेलिकमसँग सहकार्य गरिरहेको बताउँदै इन्ट्रानेट लिङ्कमार्फत निगरानी कक्षमा क्यामेराबाट कैद भएका दृश्य पुर्‍याउने काम भइरहेको बताए । 

प्राइमरी नेटवर्क भूमिगत हुने भएकोले सहरमा तारको जञ्जाल नदेखिने, सेवामा समस्या न्यूनीकरण हुने, समस्यालाई तत्काल समाधान गर्न सकिने बताइएको चटौतले जानकारी दिनुभयो । 

सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालका अनुसार क्यामेराले अल्ट्रा एचडी (फोरके ३८४०×२१६०) क्वालिटीका दृश्य खिच्छ । एआईमा आधारित हरेक क्यामेरामा ८ ओटासम्म सेन्सर जोड्न मिल्छ । यी क्यामेराहरू ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोटोकलका हुन् । 

“बत्ती गए पनि यी क्यामेरा चल्ने ब्याकअप पावरको व्यवस्था गरिएको छ । पीटीजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने)’ क्यामेराले ५५० मिटरसम्म दुरीका दृश्यहरू स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छ । बुलेट क्यामेराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छ । क्यामेराबाट सम्बन्धित अधिकारीलाई आवाजसहितको दृश्य, नोटिफिकेसन पठाउन सकिन्छ,” खनालले भने । 

इन्बिल्ट एआई फिचर भएका यी क्यामेराले, सवारीसाधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ । वातावरणको अवस्था देखाउन सक्छ । यी क्यामेराहरू ८ मेगापिक्सेल र ४ मेगापिक्सेलको रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १७:१८