त्रिविमा कम्प्युटर विज्ञान उपप्राध्यापक परीक्षा विवाद: विद्यार्थीको अनशनपछि वार्ता समिति गठन
पुस १६, २०८२ १७:५८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम्प्युटर विज्ञान विषयको उप-प्राध्यापक पदको परीक्षामा अयोग्य उम्मेदवारहरूलाई समेत सहभागी गराएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि छानबिनका लागि एक समिति गठन गरिएको छ । त्रिवि शिक्षाध्यक्ष (रेक्टर) को कार्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन एवं सह-प्राध्यापक खगेश्वर मण्डलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
कम्प्युटर विज्ञान विषय समितिले तयार पारेको कार्यविधि विपरीत आंशिक समकक्षता भएका र सेवा आयोगले यसअघि नै अयोग्य घोषणा गरेका उम्मेदवारलाई पनि परीक्षामा सामेल गराइएको विद्यार्थीहरूको आरोप छ । यसैको विरोधमा कम्प्युटर विज्ञान विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरू मंगलबार बिहानदेखि अनशनमा बसेका हुन् । नवगठित समितिलाई समकक्षताका विषयमा देखिएका विवादबारे छलफल गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
समितिमा कानुन सङ्कायका सहायक डीन उप-प्राध्यापक नेबल चौधरी सदस्य र पाठ्यक्रम विकास केन्द्रका उप-प्राध्यापक सुशील दाहाल सदस्यसचिव रहेका छन् ।
त्रिवि शिक्षाध्यक्ष प्रा.डा. खड्क केसीका अनुसार समकक्षताको विषयमा पहिलेदेखि नै विवाद रहेकाले १४ पुसको मिति कायम गरी सात दिनभित्र सुझाव दिने कार्यादेशसहित यो समिति मंगलबार गठन गरिएको हो ।
यद्यपि, विश्वविद्यालयले गठन गरेको समितिप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन् । समितिले समकक्षताको समस्याका बारेमा मात्र वार्ता गर्ने कार्यादेश पाएको, तर विज्ञापनमा अयोग्य ठहरिएका उम्मेदवारलाई सहभागी गराइएको मुख्य विषयमा स्पष्ट नबोलेको उनीहरूको तर्क छ । त्यसैले आफ्ना मागहरू पूर्ण रूपमा सम्बोधन नभएसम्म अनशन नतोड्ने विद्यार्थीहरूको अडान छ ।
कम्प्युटर विज्ञान विद्यार्थी सङ्घका अध्यक्ष निश्चल बुढाथोकीले आफ्ना मागहरू समेटिएको सम्झौता पत्रको खाका तयार भइरहेको जानकारी दिए । उनले भने, “समिति गठन गर्दा कुन विज्ञापनमा अयोग्य उम्मेदवार राखिएकाले विवाद सुरु भएको हो भन्ने विषय स्पष्ट पारिएको छैन । हामीले विषय समितिको कार्यविधि र नीतिमा आधारित भएर काम हुनुपर्ने मागसहित सम्झौताको मस्यौदा बनाउँदैछौँ ।” उक्त सम्झौता पत्रमा विश्वविद्यालय पक्षले औपचारिक सहमति जनाएमा मात्र अनशन तोडिने उनले जनाए ।
यसैबीच, मंगलबार बिहानदेखि जारी अनशनका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । अध्यक्ष बुढाथोकीका अनुसार चिसो र अनशनका कारण विद्यार्थीहरूको अवस्था कमजोर बन्दै गएको छ । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर विश्वविद्यालय प्रशासन छिट्टै सहमतिमा आउने उनीहरूले आशा राखेका छन् ।
त्रिवि सेवा आयोगले नियम विपरीत अयोग्य उम्मेदवारलाई परीक्षामा सहभागी गराएको भन्दै विद्यार्थीहरू आइतबारदेखि नै आन्दोलनरत थिए । माग पूरा गर्न बेवास्ता गरिएको भन्दै उनीहरूले मंगलबारदेखि उपकुलपति कार्यालय अगाडि अनशन सुरु गरेका हुन् ।
यसअघि आइतबार राति विद्यार्थीहरूले त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा तालाबन्दी गरेका थिए । डीन कार्यालयले माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि सोमबार बिहान त्यहाँको ताला खोलिएको थियो । यता त्रिवि सेवा आयोगले भने आफ्नो सहमतिबिना नै बल प्रयोग गरेर ताला खोलेको विद्यार्थीहरूको दाबी छ ।
पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १७:५८
