close

अटोमेसन प्रविधिले एउटै कोठाबाट यसरी हुन्छ काठमाडौँ उपत्यकाभरको बिजुलीको नियन्त्रण

टेकपाना टेकपाना

पुस १६, २०८२ २१:५५

अटोमेसन प्रविधिले एउटै कोठाबाट यसरी हुन्छ काठमाडौँ उपत्यकाभरको बिजुलीको नियन्त्रण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यका र काभ्रे जिल्लाको विद्युत आपूर्ति प्रणालीलाई अत्याधुनिक बनाउन 'सबस्टेसन अटोमेसन' आयोजनालाई तीव्रता दिएको छ । यो प्रविधि मार्फत अब एउटै कोठामा बसेर पूरै सहरको बिजुली निगरानी र नियन्त्रण गर्न सकिने छ ।

सबस्टेसन अटोमेसन भनेको अत्याधुनिक डिजिटल प्रविधि र सुपरभाइजरी कन्ट्रोलको प्रयोग गरी एकै स्थानबाट विद्युत प्रणाली सञ्चालन गर्ने प्रक्रिया हो ।  यसको सहयोगमा स्युचाटारमा रहेको मास्टर कन्ट्रोल सेन्टरबाट इन्जिनियरहरूले सबस्टेसनमा रहेका ट्रान्सफर्मर, ब्रेकर र आइसोलेटर जस्ता उपकरणहरू सिधै चलाउन सक्छन् । यसका लागि प्राधिकरणले आफ्नै डेडिकेटेड अप्टिकल फाइबर प्रयोग गरेको छ, जसले गर्दा सूचनाहरू कुनै ढिलाइ बिना तत्काल प्राप्त हुनेछन् ।

स्मार्ट होम सिस्टममा जसरी तपाईंले आफ्नो ओछ्यानबाटै रिमोट वा मोबाइलको प्रयोग गरी घरका सबै बत्ती, फ्यान र एसी नियन्त्रण गर्न सक्नुहुन्छ, त्यसरी नै यो अटोमेसन प्रणालीले विद्युत प्राधिकरणका इन्जिनियरहरूलाई स्युचाटारको एउटा कोठाबाटै उपत्यकाका विभिन्न कुनामा रहेका विशाल सबस्टेसनहरू नियन्त्रण गर्ने 'रिमोट' प्रदान गरेको छ ।

यो आयोजना अन्तर्गत कुल १३ वटा सबस्टेसनलाई अटोमेसन गर्ने लक्ष्य रहेको छ । हालसम्म बनेपा लगायत ७ वटा सबस्टेसन पूर्ण वा आंशिक रूपमा अटोमेसनमा गइसकेका छन् । आगामी फेब्रुअरीको अन्त्यसम्ममा बानेश्वर, लैनचौर, स्युचाटार, मातातीर्थ, सिंहदरबार (के३), बालाजु, चपली, चाबहिल, पाटन, भक्तपुर, पाँचखाल र लामसाँगु गरी सबै १३ वटा सबस्टेसनलाई यही सेन्टरमा आबद्ध गरिनेछ । 

यो प्रविधिको सबैभन्दा महत्त्वपूर्ण फाइदा भनेको मानवीय जोखिमको कमी हो । पहिले प्राविधिकहरूले फिल्डमै गएर जोखिम मोलेर काम गर्नुपर्नेमा अब आफ्नै कोठामा बसेर सुरक्षित तवरले सबस्टेसनका उपकरण सञ्चालन गर्न सक्छन् ।

यसको सहयोगमा कुनै फिडरमा समस्या आउने बित्तिकै कन्ट्रोल सेन्टरमा तुरुन्तै सूचना र विस्तृत रिपोर्ट प्राप्त हुन्छ । जसले गर्दा मर्मतका लागि फोन कुरिरहनु पर्दैन । धुलिखेल अस्पताल जस्ता संवेदनशील क्षेत्रमा आगलागी वा अन्य दुर्घटना भएमा काठमाडौँको कन्ट्रोल सेन्टरबाट तुरुन्तै विद्युत आपूर्ति बन्द गर्न सकिन्छ ।

ट्रान्सफर्मरको तेलको तापक्रम र वाइन्डिङको अवस्था चौबीसै घण्टा मनिटर हुने भएकाले उपकरण बिग्रनु अगावै जानकारी पाइन्छ । जसले मसिनको आयु पनि बढाउँछ । यसका साथै संकलित तथ्याङ्कको विश्लेषण गरी न्यूनतम प्राविधिक चुहावट सुनिश्चित गर्दै ग्राहकलाई गुणस्तरीय बिजुली दिन रणनीतिक योजना बनाउन सहज हुन्छ ।

यो आयोजना करिब ६१ देखि ६२ करोड नेपाली रुपैयाँको लागतमा सम्पन्न हुने अनुमान गरिएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी जनरल इलेक्ट्रिक (जीई) को भारतीय शाखा 'जीई भर्नोभा' मार्फत प्राधिकरणका कर्मचारीहरूलाई यो सिस्ट सञ्चालनको विशेष तालिम दिइएको छ । हालसम्म ३० जनाभन्दा बढी प्राविधिकहरूलाई यसका लागि दक्ष बनाइसकिएको छ ।

यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ग्राहकले भोग्दै आएको 'लो भोल्टेज' र छिनछिनमा बत्ती काटिने समस्यामा उल्लेख्य सुधार आउने र विद्युत प्रणाली अझ बढी भरपर्दो र विश्वसनीइ हुने विश्वास आयोजना प्रमुख अभय न्यौपानेले व्यक्त गरेका छन् । 

 

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ २२:४