नेपालमा एप्पल डिभाइसको बिक्री बढ्दा जेनेरेसन नेक्स्टको व्यापार एक वर्षमै २.३ अर्बले बढ्यो
पुस १८, २०८२ २०:२०
काठमाडौँ । नेपालमा एप्पल ब्राण्डका उत्पादनहरूको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनको व्यापारमा उत्साहजनक वृद्धि भएको छ । पछिल्लो एक वर्षमै कम्पनीको कारोबार दुई अर्ब ३० करोड रुपैयाँले बढेको हो ।
जेनेरेसन नेक्स्ट एप्पलका सामग्रीहरूको लागि नेपालको एकमात्र आधिकारिक वितरक हो भने डेलका उत्पादन बिक्री गर्ने तीन प्रमुख वितरकमध्ये एक हो । कम्पनीले सन् २०२४/२५ मा ६ अर्ब ५९ करोड रुपैयाँको (अपरिष्कृत) व्यापार गरेको छ । जबकि अघिल्लो वर्ष कम्पनीको कारोबार चार अर्ब २९ करोड रुपैयाँ मात्र रहेको थियो ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार, उपभोक्ताहरूमाझ एप्पलका उत्पादनप्रतिको बढ्दो आकर्षण र कम्पनीले बजार विस्तारमा अपनाएको आक्रामक रणनीतिका कारण कारोबारमा यस्तो उछाल देखिएको हो ।
कम्पनीको कुल आम्दानीमा एप्पलका उत्पादनको हिस्सा नाटकीय रूपमा बढेको छ । सन् २०२३ मा कुल आम्दानीको ५० प्रतिशत हिस्सा एप्पलका उत्पादनले ओगटेकोमा सन् २०२५ सम्म आइपुग्दा यो योगदान ९७ प्रतिशत पुगेको छ ।
व्यवसायी पवनकुमार भिमसरियाको शतप्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीले देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गरेको छ । डेलका सामग्री बिक्री गर्न कम्पनीले देशभर १५० भन्दा बढी डिलरहरू परिचालन गरेको छ भने एप्पलका उत्पादनका लागि मात्रै ५० भन्दा बढी आधिकारिक रिसेलरहरूको नेटवर्क तयार पारेको छ ।
पछिल्लो अध्यावधिक: पुस १८, २०८२ २०:२१
