close

१९ वर्षीय बिपिनले ल्याए वर्डप्रेस वेबसाइटका लागि ‘कन्टेन्ट अटोमेसन’ टुल

टेकपाना टेकपाना

पुस २०, २०८२ १९:३५

१९ वर्षीय बिपिनले ल्याए वर्डप्रेस वेबसाइटका लागि ‘कन्टेन्ट अटोमेसन’ टुल

काठमाडौँ । प्रविधिको क्षेत्रमा पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र प्रभाव बढिरहेको छ । यसै क्रममा ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) अध्ययनरत १९ वर्षीय विद्यार्थी बिपिन बुढाथोकीले वर्डप्रेस वेबसाइटका लागि ‘कन्टेन्ट अटोमेसन’ टुल सार्वजनिक गरेका छन् । 

डब्लूपी लेखक’ नाम दिइएको यस प्लेटफर्मले वर्डप्रेसमा आधारित वेबसाइटका लागि आर्टिकल तयार पारिदिन्छ । आर्टिकलका लागि उपयुक्त कीबर्ड राखेकै भरमा ‘सर्च इन्जिन अप्टिमाइजेसन’ अनुकूल लेख तयार पार्छ र स्वतः एआई सिर्जित फोटो प्रयोग गरेर वेबसाइटमा पब्लिस गर्छ ।

साना-ठुला व्यवसायीलाई आफ्ना उत्पादनको बजारीकरण गर्न र गुगल सर्च इन्जिनमा शीर्ष स्थानमा देखाउन यस प्लेटफर्मले सहयोग पुर्‍याउने बुढाथोकीको दाबी छ । 

एआईको बढ्दो प्रभावलाई नजिकबाट नियालिरहेका बिपिनले १ जनवरी, २०२६ देखि यो प्लेटफर्म प्रयोगमा ल्याएका हुन् । “म एआई सम्बन्धी कन्टेन्ट बनाइरहन्थेँ,” उनी भन्छन्, “एक पटक मैले कुनै प्लेटफर्मको समाचारलाई लिएर त्यसैको अङ्ग्रेजी वा परिस्कृत नेपाली बनाउने अटोमेसनसम्बन्धी भिडिओ बनाएको थिएँ । त्यसपछि धेरैले कन्टेन्ट अटोमेसनको टुल बनाउन सुझाव दिनुभयो । अनि त्यही बनाउन काम गरेँ र अन्ततः प्रयोगमा ल्याएँ ।”

बिपिनका अनुसार यसमा गुगलको पछिल्लो एआई मोडेल ‘जेमिनाई’ र ब्याक-इन्डमा ‘एनएटएन’ (n8n) नामक ओपन सोर्स वर्कफ्लो अटोमेसन सिस्टम जोडिएको छ । डिजिटल प्लेटफर्ममा सुरक्षाको विषय सबैभन्दा संवेदनशील हुने भएकाले यसमा उच्चस्तरीय इन्क्रिप्सन सिस्टम राखेको उनी बताउँछन् ।

“डेटा र सेक्युरिटी चेक हामीले गरिरहेका छौँ । अहिलेसम्म कतैबाट पनि डेटा लिक भएको छैन र बग आएमा तुरुन्तै फिक्स गरिरहेका छौँ,” उनी भन्छन्, “प्रयोगकर्ताले डेटा हाल्ने बित्तिकै त्यो इन्क्रिप्सन फर्म्याटमा हाम्रो सर्भरमा स्टोर हुन्छ, त्यसैले यदि ह्याकरले डेटा एक्सेस गरिहाले पनि त्यसलाई क्र्याक गर्न सक्दैन ।”

यस टुलमा प्रयोगकर्ताका लागि अनेकौँ सुविधा समावेश छन् । यसले एआईमार्फत आर्टिकल लेख्ने, किवर्डका आधारमा सामग्री तयार गर्ने र आवश्यकता अनुसार शब्द संख्या निर्धारण गर्ने सुविधा दिन्छ । विशेषगरी अन्य फिडबाट सामग्री तानेर त्यसलाई पुन: लेखन गर्ने यसको क्षमताले गर्दा ‘कपिराइट’ वा ‘डुप्लिकेट कन्टेन्ट’को समस्या नरहने उनको भनाइ छ । 

त्यसैगरी लेखिएको सामग्रीलाई सिधै वर्डप्रेसमा प्रकाशित गर्ने, शेड्युल गर्ने, मेटा टाइटल र डिस्क्रिप्सन तयार गर्ने तथा एसईओ अनुकूल बनाउने काम यसले स्वतः गर्छ । एउटै ड्यासबोर्डबाट धेरै वेबसाइट व्यवस्थापन गर्न सकिने यो टुलले कन्टेन्ट क्रिएटर र व्यवसायीको समय र खर्च दुवै बचत गर्ने विश्वास बिपिनले लिएका छन् ।

यो प्लेटफर्म निःशुल्क र सशुल्क गरी दुई मोडेलमा उपलब्ध छ । निःशुल्क प्रयोग गर्दा महिनामा तीन ओटा ६०० देखि ८०० शब्दसम्मको आर्टिकल लेख्न सकिन्छ । यसले एउटा वेबसाइटका लागि मात्र काम गर्छ । 

सशुल्क भर्सन भने बेसिक, प्रो र बिजनेस गरी तीन मोडेलमा उपलब्ध छ । १४९९ रुपैयाँको मोडेल लिँदा महिनामा १० ओटा आर्टिकल लेख्न सकिन्छ । यसले दुई ओटा वेबसाइटका लागि काम गर्छ । त्यस्तै २९९९ रुपैयाँको मोडेल लिँदा मासिक ३० ओटा आर्टिकल लेख्न सकिन्छ । प्रयोगकर्ताले भनेकै जति शब्दमा आर्टिकल लेख्ने सुविधा, कन्टेन्ट शेड्युअलमा राख्ने सुविधा र अन्य आर्टिकलबाट तालिम दिएर त्यस्तै आर्टिकल लेख्न लगाउने सुविधा यसमा रहेका छन् ।

त्यसैगरी ६,९९९ रुपैयाँको बिजनेस प्याकेज लिंदा महिनामा ६० ओटा आर्टिकल राख्न र २० भन्दा बढी वेबसाइट सेट गर्न सकिन्छ । त्यस्तै चाहे जति शब्दमा आर्टिकल लेख्न सकिने सुविधा यस प्याकेजबाट पाउन सकिन्छ ।

 

यो प्लेटफर्म प्रयोग गर्न यसमा अकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यसपछि खुल्ने ड्याशबोर्डमा आर्टिकल तयार पार्ने, फिड रिराइट गर्ने, शेड्युअल गर्ने जस्ता फिचर देख्न सकिन्छ । वर्डप्रेसको युजरनेम र पासवर्ड राखेपछि सोझै कनेक्ट गर्न सकिन्छ ।

कस्तो छ कन्टेन्ट अनि एसईओ मिल्छ ?

एउटा लेखलाई एसईओ अनुकूल बनाउन सबैभन्दा पहिले मानिसले धेरै खोज्ने किवर्ड छनोट गरी त्यसलाई शीर्षक र लेखको सुरुवातमै राख्नुपर्छ भन्ने मान्यता छ । त्यस्तै लेखको संरचना मिलाउन उप-शीर्षक (एचवन, एचटु, एचथ्री) र छोटा अनुच्छेदको प्रयोग गर्नुपर्ने हुन्छ । यसको तात्पर्य पाठकलाई पढ्न सजिलो होस् भन्ने हो । सामग्री मौलिक, जानकारीमूलक र उपयोगी हुनुपर्छ । यसका साथै लेखभित्र सम्बन्धित अन्य लिङ्कहरू राख्ने, तस्बिरमा ‘Alt Text’ थप्ने र मेटा डिस्क्रिप्सन लेख्ने गर्नाले लेख सर्च इन्जिनको पहिलो प्राथमिकतामा पर्छ । 

यस प्लेटफर्मले तयार पारेका आर्टिकलमा यीमध्ये केही मापदण्ड पूरा भएको पाइन्छ । विशेषगरी संरचना मिलाउने, वाक्य छोटा राख्ने, ट्रान्जिसन शब्दहरूले वाक्य जोड्ने लगायतका काम गरेर यसले आर्टिकल तयार पारेको हुन्छ । तर, मौलिक लेखमा भने पछि छ । गुगलले र्‍याङ्क गर्न मौलिकतालाई पनि प्राथमिकता दिने भएकाले यसबाट लेखिएका लेख शतप्रतिशत र्‍याङ्क हुन्छन् भन्ने कुरामा शंका छ ।

‘डब्लूपी लेखक’ ले लेखेको लेख शतप्रतिशत एआई सिर्जित हुन्छ । यी लेख कुनै पनि प्लेटफर्ममा जाँच गर्दा शतप्रतिशत एआई सिर्जित हो भन्ने देखिन्छ । गुगलले मौलिक कन्टेन्टलाई प्राथमिकता दिने गर्छ । त्यस्तै पाठकले पनि एआई सिर्जितभन्दा मौलिक कन्टेन्टलाई नै रुचाउने वा पढ्ने गर्छन् । यस्तोमा यति शुल्क तिरेर यो प्लेटफर्म किन प्रयोग गर्ने भन्ने प्रश्न पनि आउँछ । तर, समय अभाव छ । धेरै प्रडक्टको जानकारी दिइरहनु पर्ने छ, अपडेटेड जानकारी राख्नु छ भने यो प्लेटफर्म प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १९:३६