ग्यालेक्सी एआई डिभाइसको संख्या ८० करोड पुर्याउँदै सामसङ, स्मार्टफोनको मूल्य बढ्नसक्ने संकेत
पुस २१, २०८२ १६:१४
काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले यस वर्ष ‘ग्यालेक्सी एआई’ सुविधायुक्त आफ्ना मोबाइल डिभाइसहरूको संख्या दोब्बर बनाउने घोषणा गरेको छ । मुख्य रूपमा गुगलको जेमिनाई एआई मोडेलद्वारा सञ्चालित यी सुविधा सन् २०२६ सम्ममा ८० करोड डिभाइसमा उपलब्ध गराउने कम्पनीको लक्ष्य छ ।
गत वर्षसम्म सामसङले करिब ४० करोड स्मार्टफोन र ट्याब्लेटहरूमा एआई फिचर रोल-आउट गरेको थियो । कम्पनीका सह-प्रमुख कार्यकारी अधिकृत टी.एम. रोले पदभार ग्रहण गरेपछि दिएको पहिलो अन्तर्वार्तामा एआई प्रविधिलाई कम्पनीको मुख्य रणनीतिको रूपमा अघि सारेका हुन् ।
“हामी जतिसक्दो चाँडो सामसङका सबै उत्पादन, काम र सेवामा एआई लागु गर्नेछौँ,” रोले रोयटर्स भने ।
सामसङको यो योजनाले एआईको विश्वव्यापी दौडमा गुगललाई ओपनएआईजस्ता प्रतिस्पर्धीहरू विरुद्ध ठुलो सफलता दिलाउने अपेक्षा गरिएको छ ।
सामसङले एप्पलसँग गुमेको बजार हिस्सा फिर्ता लिन र चिनियाँ प्रतिस्पर्धीहरूलाई कडा टक्कर दिन मोबाइल मात्र नभई टेलिभिजन र होम डिभाइसहरूमा पनि एकीकृत एआई सेवा विस्तार गर्ने रणनीति लिएको छ । रोका अनुसार ग्यालेक्सी एआई प्रतिको उपभोक्ताको सचेतना एक वर्षमै ३० प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ ।
विश्वव्यापी रूपमा देखिएको मेमोरी चिपको अभाव सामसङका लागि अवसर र चुनौती दुवै बनेको छ । चिप अभावका कारण कम्पनीको सेमिकन्डक्टर व्यवसायको नाफा बढ्ने देखिए पनि स्मार्टफोन उत्पादनमा भने लागत बढ्ने देखिएको छ । यसले गर्दा आगामी दिनमा मोबाइल फोनको मूल्य बढ्न सक्ने संकेत रोले दिएका छन् । चिप अभावका कारण सोमबार सामसङको शेयर मूल्यमा ७.५ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ ।
फोल्डेबल फोनको भविष्य
सामसङले सन् २०१९ मा सुरु गरेको फोल्डेबल फोनको बजार अपेक्षाभन्दा सुस्त गतिमा अघि बढिरहेको रोले स्वीकार गरे । इन्जिनियरिङ जटिलता र उपयुक्त एप्लिकेसनहरूको अभावका कारण यो क्षेत्र सुस्त देखिए पनि आगामी दुई-तीन वर्षमा फोल्डेबल फोनहरू मूलधारमा आउने उनको विश्वास छ ।
सन् २०२५ को तेस्रो त्रैमासिकसम्म फोल्डेबल फोन बजारको दुई तिहाइ हिस्सा सामसङको कब्जामा भए पनि यस वर्ष एप्पलले आफ्नो पहिलो फोल्डेबल फोन ल्याउने तयारी गरेसँगै प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
हाल उपभोक्ताहरूले फोनमा एआई सर्च, इमेज एडिटिङ, प्रडक्टिभिटी टुलहरू र ट्रान्सलेसन तथा समरीजस्ता सुविधाहरू बढी प्रयोग गरिरहेको सामसङले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २१, २०८२ १७:३
