काठमाडौँ । चिप निर्माता एनभिडिया र कार निर्माता मर्सिडिज-बेन्जले स्वचालित सवारी साधनको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ नयाँ एआई सिस्टम ‘अल्पमायो’ (Alpamayo) सार्वजनिक गरेका छन् । यो सिस्टमले सवारी चलाउँदा आइपर्ने जटिल परिस्थितिहरूमा मानिसले जस्तै तर्क (रिजनिङ) गरेर निर्णय लिन सक्ने दाबी गरिएको छ ।
मर्सिडिजको नयाँ सीएलए मोडेल यो पूर्ण एनभिडिया सेटअप प्रयोग गर्ने पहिलो व्यावसायिक सवारी साधन हुनेछ । कम्पनीका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा अमेरिका, दोस्रो त्रैमासिकमा युरोप र अन्त्यतिर एसियाली बजारमा यो कार उपलब्ध हुनेछ ।
हालसम्मका स्व-चालित प्रणालीहरूले निश्चित नियमहरू मात्र पछ्याउने गरेका थिए, जसका कारण सडकमा हुने असामान्य परिस्थितिमा कम्प्युटरहरू झुक्किने गर्थे । एनभिडियाको अल्पमायोले भने ‘चेन-अफ-थट’ (Chain-of-thought) प्रक्रिया प्रयोग गर्छ । यसले सडकको दृश्य हेर्ने मात्र नभई, आफूले चालेको कदमको कारण समेत व्याख्या गर्न सक्छ । उदाहरणका लागि, अगाडिको ट्रक पार्किङ गर्न खोज्दैछ भन्ने बुझेर कारले किन बायाँ मोड लियो भन्ने कुरा अल्पमायो प्रणालीले स्पष्ट पार्न सक्छ ।
एनभिडियाका सीईओ जेन्सेन हुआङले यो प्रणालीलाई सोच्न सक्ने प्रणालीको संज्ञा दिँदै यसलाई थप प्रभावकारी बनाउन मोडेलको मुख्य निर्देशन र १७ सय घण्टाभन्दा बढीको ड्राइभिङ डेटा सार्वजनिक गरिएको जानकारी दिए । एनभिडियाको यो कदमलाई गुगलले एन्ड्रोइडका लागि चालेको रणनीतिका रूपमा हेरिएको छ । जहाँ उसले सबैका लागि अपरेटिङ सिस्टम बन्ने लक्ष्य राखेको छ ।
मर्सिडिजले यस प्रणालीलाई ‘MB.DRIVE ASSIST PRO’ नाम दिएको छ । यो एक 'लेभल टु प्लस' (Level 2+) प्रणाली हो, जसको अर्थ कारले चलाउन मद्दत गरे पनि चालकले सधैँ ध्यान दिनुपर्ने हुन्छ । यसमा को-अपरेटिभ स्टेयरिङको सुविधा छ, जसले गर्दा चालकले खाल्डो छल्न स्टेयरिङ घुमाउँदा प्रणाली आफैँ बन्द नभई चालकसँग मिलेर काम गर्छ ।
यो कारमा ३० ओटा सेन्सरहरू जडान गरिएका छन्, जसमा १० ओटा क्यामेरा, पाँच ओटा राडार र १२ ओटा अल्ट्रासोनिक सेन्सरहरू रहेका छन् । यी सबै तथ्याङ्कलाई एनभिडियाको शक्तिशाली सिक्स-चिप भएको ‘वेरा रुबिन’ प्लेटफर्मले प्रोसेस गर्दछ ।
एआई प्रणालीहरू कसरी चल्छन् भन्ने कुरा प्रायः गोप्य हुने भएकाले सरकारी नियामकहरू चिन्तित हुने गर्थे । अल्पमायोले आफ्नो हरेक निर्णयको तर्क स्पष्ट पार्ने भएकाले दुर्घटना वा गल्ती हुँदा त्यसको कारण पत्ता लगाउन सजिलो हुनेछ । यसले गर्दा नियामक निकायहरूलाई पनि सुरक्षा मापदण्ड तोक्न सहज हुने विश्वास गरिएको छ ।
यो प्रविधिमार्फत मर्सिडिजले टेस्लाको ‘फुल सेल्फ-ड्राइभिङ’ प्याकेजलाई कडा टक्कर दिने देखिएको छ । सन् २०२६ मा मर्सिडिज सीएलए सडकमा आएसँगै ‘तर्क गर्ने कार’ को अवधारणा विज्ञान कथाबाट यथार्थमा परिणत हुने प्रविधि विश्लेषकहरूको भनाइ छ ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १६:२७
