माघ ९ र १० मा बुटवलमा ‘वर्डक्याम्प नेपाल २०२६’ हुँदै, यसरी बन्नुहोस् सहभागी
पुस २३, २०८२ १६:३२
काठमाडौँ । आगामी माघ ९ र १० मा बुटवलमा ‘वर्डक्याम्प नेपाल २०२६’ हुने भएको छ । राष्ट्रिय स्तरको यस सम्मेलनमा देश-विदेशबाट वर्डप्रेस डेभलपर, डिजाइनर, ब्लगर, उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहने आयोजक वर्डप्रेस नेपालले जानकारी दिएको छ ।
वर्डक्याम्पको पहिलो दिन वर्डप्रेस कम्युनिटीका नयाँ सदस्यहरूलाई वर्डप्रेस र ओपनसोर्ससँग सम्बन्धित प्रोजेक्टहरूमा सहभागी गराइने छ । दोस्रो दिन वर्डप्रेस डेभलपमेन्ट, डिजाइन, व्यवसाय, मार्केटिङ र कम्युनिटीका विषयमा विभिन्न सेसन र प्यानल डिस्कसन रहने छ । उक्त छलफलमा नेपाल, भारत र बङ्गलादेशमा वर्डप्रेससँग कार्यरत विभिन्न व्यक्तिहरू वक्ताका रूपमा उपस्थित रहनेछन् ।
यस संस्करणको वर्डक्याम्प नेपालका लागि १२ सयदेखि सात हजार ५०० रुपैयाँसम्मको टिकट राखिएका छन् । तीमध्ये १२ सय रुपैयाँ पर्ने स्टुडेन्ट र अर्ली बर्ड टिकेट बिक्री भइसकेको आयोजकले जनाएको छ । अब दुई हजार रुपैयाँ पर्ने क्लासिक टिकट र सात हजार ५०० रुपैयाँको स्पोन्सर टिकट बाँकी रहेका छन् । इच्छुकले यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
नेपालमा हरेक वर्ष वर्डप्रेस सम्बन्धी क्षेत्रीय तथा राष्ट्रियस्तरका वर्डक्याम्प सञ्चालन हुँदै आएका छन् । वर्डप्रेस तथा वेब इकोसिस्टमलाई मजबुत बनाउने, ओपन सोर्सको प्रयोग गरेर कम्युनिटी सहकार्य गर्न सक्ने संस्कारको प्रवर्द्धन गर्ने तथा सिकारु र अनुभवी पेसेवरहरूबिच अनुभव साटासाट गर्ने मञ्चको रूपमा वर्डक्याम्प कार्यक्रम परिचित छ ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १६:३२
