close

विज्ञहरूले पछि धकेले एआईले मानव सभ्यता समाप्त पार्न सक्ने सम्भावनाको समयसीमा

टेकपाना टेकपाना

पुस २४, २०८२ १४:४३

विज्ञहरूले पछि धकेले एआईले मानव सभ्यता समाप्त पार्न सक्ने सम्भावनाको समयसीमा

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव सभ्यताको अन्त्य गर्नसक्ने भन्दै गरिएको प्रक्षेपण सुपर इन्टेलिजेन्सको समय रेखा (Doom Timeline) मा विज्ञहरूले संशोधन गरेका छन् । यस क्रममा विज्ञहरूले यदि सही ढङ्गले व्यवस्थापन नगरे एआई नै मानव सभ्यताले निर्माण गरेको ‘अन्तिम प्रविधि’ साबित हुन सक्ने चेतावनी दिएका छन् ।

अप्रिल २०२५ मा सार्वजनिक गरिएको ‘एआई २०२७’ नामक अनुसन्धान परियोजनाले सन् २०२७ सम्ममा एआईले ‘सुपरइन्टेलिजेन्स’ विकास गर्ने र पूर्ण रूपमा अटोनोमस कोडिङ गर्न सक्षम हुने प्रक्षेपण गरेको थियो । यस मोडेलको सबैभन्दा डरलाग्दो पक्ष के थियो भने सन् २०३० सम्ममा एआईले मानिसका लागि नभई आफ्नै सुरक्षाका लागि संसारलाई कस्टमाइज गर्ने लक्ष्य राख्नेछ ।

यस क्रममा उसले आफूलाई खतरा ठान्ने मानिसहरूलाई हटाउन सक्ने र अर्को दशकको सुरुवातसम्ममा मानव जातिलाई नै समाप्त पारी आफ्ना लागि आवश्यक भौतिक संरचना (डेटा सेन्टर र सोलार प्यानल) बनाउन सक्ने सम्भावना देखाइएको थियो ।

अनुसन्धान समूह ‘एआई फ्युचर्स’का परियोजना प्रमुख र ओपनएआईका पूर्व कर्मचारी डेनियल कोकोताजलोले हालै सामाजिक सञ्जाल एक्स मार्फत यो समयरेखामा केही ढिलाइ भएको जानकारी दिएका छन् ।

नयाँ अध्ययनका अनुसार एआईको विकास पहिले सोचिएको भन्दा केही सुस्त गतिमा भइरहेको छ । यसअघि २०२७ मा हुने भनिएको यो विकास अब सन् २०३० को दशकमा मात्र सम्भव हुने देखिएको छ ।

सुपरइन्टेलिजेन्स अर्थात् एआईले मानव क्षमतालाई पूर्ण रूपमा उछिन्न सक्ने अवस्था अब सन् २०३४ मा पुग्ने अनुमान गरिएको छ । नयाँ प्रतिवेदनमा एआईले मानवताको विनाश कहिले गर्छ भन्ने कुनै निश्चित मिति भने उल्लेख गरिएको छैन ।

यो समयरेखालाई लिएर प्रविधि जगतमा पक्ष र विपक्षमा ठुलो बहस सिर्जना गरेको छ । न्युयोर्क विश्वविद्यालयका न्युरोसाइन्सका प्राध्यापक ग्यारी मार्कसले यसलाई नेटफ्लिक्सको थ्रिलर फिल्म जस्तै साइन्स फिक्सन बकवास भन्दै आलोचना गरेका छन् ।

यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका सिनियर रिसर्च फेलो डा फजल बारेजका अनुसार, यदि हामीले एआई प्रणालीलाई सुरक्षित बनाउने र मानव मूल्यसँग तालमेल मिलाउने बाटो फेला पारेनौँ भने यो वास्तवमै मानिसले बनाएको अन्तिम प्रविधि हुन सक्छ । उनका अनुसार एआईको क्षमता प्रकाशको गतिमा बढिरहेको छ । तर यसको सुरक्षाका उपायहरू भने निकै सुस्त छन् ।

ओपनएआईका सीईओ शाम अल्टम्यानले मार्च २०२८ सम्ममा ‘अटोमेटेड एआई रिसर्चर’ बनाउने आन्तरिक लक्ष्य रहेको बताएका छन् । यद्यपि उनले यसमा असफल हुन सक्ने सम्भावना पनि स्वीकारेका छन् ।

डा बारेजका अनुसार मुख्य समस्या एआईले मानिसलाई मार्नु मात्र होइन, बरु प्रविधिमाथिको बढ्दो निर्भरताले मानिसको आफ्नै सोच्ने र काम गर्ने क्षमता हराउँदै जानु (गैर सशक्तीकरण) पनि हो ।

 

पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १४:४३