close

देशभरका हलहरूमा प्रदर्शनमा आयो उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’

टेकपाना टेकपाना

पुस २५, २०८२ १५:१७

देशभरका हलहरूमा प्रदर्शनमा आयो उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’

ललितपुर । नेपाली वैकल्पिक राजनीतिका प्रणेता एवं अभियन्ता स्व उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र (डकुमेन्ट्री) 'दिमाग घोच्ने मान्छे' आज (पुस २५) देखि देशभरका विभिन्न चलचित्र हलहरूमा प्रदर्शनमा आएको छ । उज्वल थापा फाउन्डेसनको निर्माण तथा ड्रिम विजार्डको प्रस्तुति रहेको यस वृत्तचित्रको प्रिमियर २३ पुसमा ललितपुर स्थित लबिम मलमा रहेको क्यूएफएक्समा गरिएको थियो।

१ घण्टा ५० मिनेट लामो यस वृत्तचित्रको प्रिमियर शोमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले उज्वल थापा आफूलाई मन पर्ने व्यक्तिहरू मध्ये एक रहेको बताइन् । उनले भनिन्, "मानिसमा विवेकशीलता जगाउन उहाँले विवेकशील राजनीतिक दल खोल्नुभयो । उहाँले धेरै युवा नेतृत्व विकास पनि गर्नुभएको छ । आजको राजनीतिक अवस्थामा पनि उहाँ जस्तो मान्छे रहनु पर्ने हो ।"

त्यस्तै सञ्चारमन्त्री जगदीश खरेलले वृत्तचित्रले दिमाग मात्र नभई मन पनि घोचेको प्रतिक्रिया दिए । उनले थापाले आफ्नो सर्कल, परिवार र समुदायभन्दा माथि देशलाई राख्न सक्ने चेतनाको बीजारोपण गरेको बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले उज्वल थापाको जीवनबाट नयाँ पिँढीले धेरै कुरा सिक्न सक्ने बताउँदै उनका सहयात्रीहरू अहिले धेरै ठाउँमा नेतृत्व तहमा पुगेको स्मरण गरे । गायिका आनी छोइङ डोल्माले थापाले सबैको मनमा परिवर्तनको दियो बालेको बताइन् ।

सुदिप भाजुद्वारा निर्देशित यस वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षा, स्वदेश फिर्तीपछिको नागरिक जागरण अभियान र वैकल्पिक राजनीतिमा उनले पुर्‍याएको योगदानलाई समेटेको छ । एक व्यक्तिको सक्रियताले समाजमा कसरी अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश वृत्तचित्रले दिएको छ ।

यो वृत्तचित्र निर्माणका लागि सर्वसाधारणहरूबाट ५ रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्राप्त भएको थियो । फाउन्डेसनले वृत्तचित्रको प्रदर्शनी अवधि सकिएपछि सम्पूर्ण आम्दानी र खर्चको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाली नागरिक चेतना, उद्यमशीलता र सामाजिक रूपान्तरणको कथा बोकेको 'दिमाग घोच्ने मान्छे' आजदेखि देशभरका हलहरूमा हेर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १५:१७