close

महिला र बालबालिकाका आपत्तिजनक एआई तस्बिर फैलाएको भन्दै ‘एक्स’ एप स्टोरहरूबाट हटाउन माग

टेकपाना टेकपाना

पुस २६, २०८२ ११:३९

महिला र बालबालिकाका आपत्तिजनक एआई तस्बिर फैलाएको भन्दै ‘एक्स’ एप स्टोरहरूबाट हटाउन माग

काठमाडौँ । अमेरिकाका तीन डेमोक्रेटिक सिनेटरले एप्पल र अल्फाबेट (गुगल) लाई आफ्नो एप स्टोरबाट सामाजिक सञ्जाल ‘एक्स’ र यसको एआई च्याटबट ‘ग्रोक’ हटाउन माग गरेका छन् । ‘एक्स’मा महिला र बालबालिकाको सहमतिबिनाका यौनजन्य तस्बिर तीव्र रूपमा फैलिरहेको भन्दै सिनेटर रोन वाइडेन, बेन रे लुजान र एडवर्ड मार्कीले शुक्रबार एप्पल र गुगललाई संयुक्त पत्र पठाएका हुन् । 

रोयटर्सले फेला पारेको उक्त पत्रमा भनिएको छ, “एक्सले आफ्ना नीतिगत उल्लङ्घनलाई सम्बोधन नगरेसम्म एप्पल र गुगलले यी एपलाई आफ्नो स्टोरबाट हटाउनै पर्छ ।”

अर्बपति उद्यमी एलन मस्कको स्वामित्वमा रहेको ‘एक्स’ र यसको च्याटबट ‘ग्रोक’ ले पछिल्लो सातादेखि महिला र बालबालिकाका आपत्तिजनक, हिंसात्मक र यौनजन्य एआई तस्बिर सिर्जना गरी प्लेटफर्ममा बाढी ल्याएको भन्दै विश्वभर आलोचना भइरहेको छ ।

सिनेटरले गुगल र एप्पलको सेवा सर्त स्मरण गराउँदै भनेका छन्, “गुगलले बालबालिकाको शोषण गर्ने सामग्री वितरणमा रोक लगाएको छ भने एप्पलले यौनजन्य वा अश्लील सामग्रीलाई निषेध गरेको छ । एक्सको यस्तो गम्भीर व्यवहारलाई नजरअन्दाज गर्नु तपाईंको नियमन अभ्यासकै उपहास हुनेछ ।”

यस विषयमा एप्पल र गुगलले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । एक्सले भने आफूहरूले गैरकानुनी सामग्री विरुद्ध कारबाही गरिरहेको दाबी गरेको छ । मस्कको एआई कम्पनी एक्सएआईले सिनेटरको पत्र र ग्रोकको विवादित नतिजा बारे सोधिएको प्रश्नमा यसलाई ‘स्थापित सञ्चारमाध्यमको झूट’ भन्दै पन्छाएको छ । सञ्चार माध्यमले जवाफ माग गर्दा एक्सएआईले प्रायः यही जवाफ पठाउने गरेको छ ।

एलन मस्कले भने यस्ता तस्बिरको विषयमा व्यङ्ग्यात्मक इमोजी प्रयोग गर्दै आएका छन् । उनले गैरकानुनी सामग्रीका लागि प्रयोगकर्ता नै जिम्मेवार हुने र उनीहरूले नै परिणाम भोग्नुपर्ने बताएका छन् ।

यसैबिच बेलायती प्रविधि मन्त्री लिज केन्डलले पनि एक्सविरुद्ध कडा कारबाहीको चेतावनी दिएकी छिन् । उनले त्यहाँको सञ्चार नियामक अफकमले केही दिनभित्रै एक्समाथि ठुलो जरिबाना गर्ने वा सेवा नै बन्द गर्न सक्ने सङ्केत गरेकी छिन् । “एक्सले यस्ता सामग्री तुरुन्तै हटाउन आवश्यक छ,” उनले भनिन् ।

बढ्दो दबाबका बीच मस्कको कम्पनीले ग्रोकमा केही सीमा लगाएको देखिएको छ । हाल महिलाका आपत्तिजनक तस्बिर बनाउन खोज्दा शुल्क तिर्ने ग्राहकका लागि मात्र उक्त सुविधा उपलब्ध भएको मेसेज देखिने गरेको छ । तर, सिनेटर रोन वाइडेनले भने यसलाई मस्कले बालबालिकाको शोषणबाट नाफा कमाउने बाटो बनाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, “एक्सले गरेको यो परिवर्तनले प्रयोगकर्तालाई यस्ता भयानक तस्बिर बनाउनका लागि केवल पैसा तिर्न बाध्य पारेको छ, जबकि मस्कले बालबालिकामाथिको दुर्व्यवहारबाट नाफा कमाइरहेका छन् ।” मस्कले एआईको यस्तो दुरुपयोग रोक्न फोटोबाट लुगा हटाउने फिचर नै बन्द गर्नुपर्ने माग उठिरहेको छ । तर, यस्तो बेला शुल्क तिर्ने प्रयोगकर्तालाई यो फिचर प्रयोग गर्न दिँदा विवाद थप चुलिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८२ ११:४१