‘मिलिटरी ग्रेड' सुरक्षा फिचरसहित आइटेलको नयाँ फोन नेपाली बजारमा, मूल्य साढे ११ हजारबाट सुरु
पुस २९, २०८२ १७:१२
काठमाडौँ । आइटेलले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन 'आइटेल ए१००सी (Itel A100C) भित्र्याएको छ । न्यून बजेटमा धेरै फिचर खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै आकर्षक डिजाइन र मजबुत बनावटसहितको फोन बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
यो स्मार्टफोनको सुरुवाती भेरियन्टको मूल्य ११ हजार ४९० रुपैयाँ तोकिएको छ । सस्तो मूल्य भए तापनि यसमा प्रिमियम फोनहरूमा पाइने खालका विभिन्न विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ ।
फोनको मुख्य पक्ष भनेको 'मिलिटरी ग्रेड ड्रप रेसिस्टेन्स' हो । यसले गर्दा फोन आकस्मिक रूपमा हातबाट खस्दा पनि क्षति हुने जोखिम कम रहन्छ । फोनमा ६.६ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ, जसले ९० हर्जको रिफ्रेस रेट सपोर्ट गर्छ । साथै, यसमा ४०० निट्सको पिक ब्राइटनेस र नोटिफिकेसनहरूका लागि डाइनामिक पोर्ट फिचरसमेत दिइएको छ ।
यो स्मार्टफोन एन्ड्रोइड १५ (गो एडिसन) मा आधारित आइटेल ओएस १५ मा चल्छ । यसमा इन्ट्री लेभलको युनिसक टी६१०० चिपसेट प्रयोग गरिएको छ । फोनमा अर्को रोचक फिचरको रूपमा 'आईआर रिमोट कन्ट्रोल' (IR Remote Control) रहेको छ । जसको सहयोगले प्रयोगकर्ताले टिभी लगायतका विद्युतीय उपकरणहरू मोबाइलबाटै नियन्त्रण गर्न सक्नेछन् ।
क्यामेरातर्फ फोनमा ८ मेगापिक्सेलको मुख्य रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । दुवै क्यामेराबाट १०८० पिक्सेल फुल एचडी भिडिओ रेकर्ड गर्न सकिन्छ । पावरका लागि फोनमा ५,००० एमएएचको ब्याट्री राखिएको छ, जसलाई चार्ज गर्न १० वाटको टाइप-सी चार्जर उपलब्ध गराइएको छ ।
सुरक्षाका लागि फोनमा 'साइड माउन्टेड' फिंगरप्रिन्ट स्क्यानर र फेस लक सुविधा दिइएको छ । यो स्मार्टफोन ३+६४ जीबी, ४+६४ जीबी र ४+१२८ जीबी गरी तीन ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोन ब्ल्याक, गोल्डेन र ब्लेज ब्लु गरी तीन आकर्षक रङहरूमा खरिद गर्न सकिनेछ ।
साधारण मोबाइल प्रयोगकर्ता, विद्यार्थी र कम बजेटमा बलियो स्मार्टफोन खोज्नेहरूका लागि यो नयाँ मोडल उत्कृष्ट विकल्प हुन सक्ने आइटेलले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २९, २०८२ १७:१२
