थाइल्याण्डको बैङ्क खातामा रहेको ७ लाख अमेरिकी डलर पाउने लोभमा ६६ वर्षीय वृद्धले गुमाए १९ लाख
पुस ३०, २०८२ १५:५६
काठमाडौँ । के तपाईँलाई कहिल्यै ईमेल वा सामाजिक सञ्जाल मार्फत चिठ्ठा वा पुरस्कार परेको भन्दै मेसेज आएका छन् ? विदेशमा तपाईंको थर मिल्ने कुनै व्यक्तिको निधन भएको र उक्त व्यक्तिको खातामा रहेको ठुलो रकम पठाइ दिने प्रलोभन पो देखायो कि ? अनलाइनमा कसैले सित्तैमा डलर दिन्छु भन्छ भने, त्यो उपहार नभई तपाईँको खल्ती रित्याउने जाल हुनसक्छ ।
हालै यस्तै घटनाको सिकार भएका छन् ६६ वर्षीय वेदबहादुर कुँवर । थाइल्यान्डको एउटा बैङ्कमा रहेको करिब ७ लाख डलरको ‘चिठ्ठा’को पैसा आफ्नो खातामा आउने लोभले उनलाई १९ लाख ३४ हजार ३०० रुपैयाँको ठगीमा पार्यो ।
ललितपुर जिल्ला अदालतमा हालै दायर गरिएको एक अभियोग पत्रले कसरी अन्तर्राष्ट्रिय गिरोहले नेपाली नागरिकहरूलाई प्रयोग गरी सङ्गठित रूपमा ठगी गरिरहेको छ भन्ने एउटा भयावह दृश्य प्रस्तुत गरेको छ ।
घटनाको सुरुवात फेसबुक मेसेन्जरबाट भएको थियो । आफूलाई भानिदा सुवान बताउने एक अपरिचित महिलाले कुँवरसँग अनलाइनमार्फत सम्पर्क बढाइन् । ती महिलाले कुँवरलाई एउटा आकर्षक लोभ देखाइन् - थाइल्याण्डको सायम कमर्सियल बैङ्कमा उनका एक नातेदारका नाममा ६ लाख ९८ हजार अमेरिकी डलर (१० करोड रुपैयाँभन्दा बढी) रहेको र सो रकम उनको खातामा ट्रान्सफर गरिदिने ।
वर्षौँदेखि विदेशमा रहेका वा नचिनेका नातेदारको नाममा यति ठुलो रकम आउने खबरले कुँवरलाई मोहित तुल्यायो । तर, त्यो रकम प्राप्त गर्नका लागि केही ‘प्रक्रियागत शुल्क’ तिर्नुपर्ने सर्त राखिएको थियो ।
भानिदा सुवानको योजना अनुसार कुँवरले विभिन्न व्यक्तिका बैङ्क खातामा रकम जम्मा गर्न थाले । आफू नेपाली र भारतीय नागरिकहरूको एउटा सङ्गठित गिरोहको जालमा परिरहेको कुरा उनले सोचेकै थिएनन् ।
अभियोग पत्रका अनुसार कुँवरले २८ साउन २०८० मा भारतीय नागरिक नजारा अलीको लक्ष्मी बैङ्क, टेकु शाखाको खातामा ३ लाख १० हजार ७०० रुपैयाँ पठाए । त्यसै वर्षको ६ भदौमा सुनसरीका १९ वर्षीय कुसेश्वर मेहताको ग्लोबल आईएमई बैङ्क, विराटनगर शाखाको खातामा ८ लाख ८२ हजार ६०० रुपैयाँ जम्मा गरे ।
सोही समयमा सुनसरीकै २५ वर्षीय राजकुमार मेहताको ग्लोबल आईएमई बैङ्कको खातामा ७ लाख ४१ हजार रुपैयाँ दिए ।
यसरी पटक-पटक गरी उनले कुल १९ लाख ३४ हजार ३०० रुपैयाँ ती अपरिचित व्यक्तिहरूका नाममा बुझाए । रकम जम्मा गरिसकेपछि जब कुँवरले डलर आफ्नो खातामा आयो कि भनेर बुझ्न खोजे, तब वास्तविकता बाहिरियो ।
उनलाई सम्पर्क गरिरहेकी महिला र रकम बुझ्ने व्यक्तिहरू सबैसँग फोन सम्पर्क विच्छेद भयो । ८ चैत २०८० चैतसम्म बुझ्दा उनको नाममा कुनै पनि डलर जम्मा भएको थिएन ।
आफू नराम्रोसँग ठगिएको महसुस गरेपछि कुँवरले प्रहरीमा जाहेरी दिए । अनुसन्धानका क्रममा नेपाल प्रहरीको साइबर ब्युरोले यो ठगीमा सामाजिक सञ्जालको प्रयोग भएको र ठुलो गिरोह सक्रिय रहेको पुष्टि गर्यो ।
ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले यस मुद्दामा तीन जनालाई प्रमुख प्रतिवादी बनाएर अदालतमा अभियोग पत्र दर्ता गरेको छ । जसमा सुनसरी देवानगञ्जका २५ वर्षीय राजकुमार मेहता र १९ वर्षका कुसेश्वर मेहता र भारत विहार घर भई हाल कलङ्की बस्ने ४३ वर्षे नजारा अली रहेका छन् ।
हाल यी तीनै जना प्रतिवादीहरू फरार रहेका छन् र उनीहरूको खोजीका लागि म्याद जारी गरिएको छ ।
के छ सजायको मागदाबी ?
सरकारी वकिलले प्रतिवादी विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगीको कसुरमा मुद्दा चलाएको छ । यस ऐन अनुसार दोषी ठहरिएमा उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने व्यवस्था छ ।
साथै, पीडित वेदबहादुर कुँवरलाई ठगिएको १९ लाख ३४ हजार ३०० रुपैयाँ प्रतिवादीहरूबाटै असुल गरी भराइदिन र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत मागदाबी लिइएको छ ।
अहिले यो मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छ । प्रमाणका रूपमा बैङ्क भौचर, फेसबुकका मेसेज र बैङ्क स्टेटमेन्ट अदालतमा पेस गरिएका छन् । तर, प्रतिवादीहरू फरार रहेका कारण पीडितले कहिले न्याय र आफ्नो रकम फिर्ता पाउँछन् भन्ने कुरा भने अनिश्चित छ ।
पछिल्लो अध्यावधिक: माघ १, २०८२ ८:५४
