close

एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित ‘दीपल ई०७ ट्रान्सफर्मर एक्स’ नेपाली बजारमा

मूल्य १.१ करोड रुपैयाँ

टेकपाना टेकपाना

माघ १, २०८२ १४:८

एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित ‘दीपल ई०७ ट्रान्सफर्मर एक्स’ नेपाली बजारमा

काठमाडौँ । नेपालका लागि दीपल इलेक्ट्रिक सवारी साधनको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो नयाँ एसयूभी ‘दीपल ई०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा नयाँ मोडलको ईभी अनावरण गरेका हुन् । यस एसयूभीको सुरुवाती मूल्य एक करोड नाै लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण यसमा रहेको ‘कन्टिनियस ड्याम्पिङ कन्ट्रोल’ (सीडीसी) सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो । यस प्रविधिले सडकको अवस्था हेरेर गाडीको ग्राउन्ड क्लियरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाउन सक्ने कम्पनीको भनाइ छ । यो सिस्टमका कारण नेपालको कठिन भौगोलिक परिस्थितिमा पनि असाधारण स्थिरता र आराम प्रदान गर्ने बताइएको छ । उच्च गतिमा गुड्दा भने यसको ग्राउन्ड क्लियरेन्स स्वचालित रूपमा कम भएर गाडीलाई थप सन्तुलित बनाउँछ ।

ई०७ मा लक्जरीलाई विशेष ध्यान दिइएको छ । यसका चारै वटा सिटमा मसाज, हिटिङ, भेन्टिलेसन र वेलकमिङ सुविधाहरू उपलब्ध छन् । यसमा रहेको विशेष ‘जिरो ग्र्याभिटी रिल्याक्सेसन मोड’ले गाडीको भित्री वातावरणलाई ‘पर्सनल वेलनेस लाउन्ज’मा परिणत गरिदिन्छ । पछाडि बस्ने यात्रुले पनि ट्रंक अपरेसन, क्लाइमेट कन्ट्रोल र सिट फोल्डिङ जस्ता सुविधाहरू आफैँ नियन्त्रण गर्न सक्नेछन् ।

यो एसयूभीलाई आफ्नो ‘ट्रान्सफर्मर’ क्षमतामार्फत एसयूभी, पिकअप, क्याम्पिङ र आरभी गरी चार फरक स्वरूपमा प्रयोग गर्न सकिन्छ । ५ मिटर लामो र ३१२० एमएम ह्विलबेस भएको गाडीको पेलोड क्षमता ६५५ केजी रहेको छ । यसमा १३१ लिटरको फ्रंक (अगाडिको स्टोरेज) समेत उपलब्ध छ ।

दीपल ई०७ ट्रान्सफर्मर एक्समा ८९.९८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । जसले सिंगल चार्जमा ५९० किलोमिटर (डब्लूएलटीपी) को रेन्ज दिन्छ । यसले २४० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । साथै, यसमा ६०० एमएमको वाटर वेडिङ क्षमता र विशेष इनर्जी सेभिङ सिस्टम छ, जसले ड्राइभिङ रेन्जलाई थप २० प्रतिशतसम्म वृद्धि गर्न सहयोग पुर्‍याउँछ ।

यो गाडी सेतो, कालो र खरानी गरी तीन ओटा रङमा उपलब्ध छ । एमएडब्लूले गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभीका रूपमा दीपल ई०७ को पहिलो भर्सन नेपाल भित्र्याएको थियो ।

 

पछिल्लो अध्यावधिक: माघ १, २०८२ १४:५३