close

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरीमा मानसिक स्वास्थ्यको समस्या बढाउँदैन: नयाँ अध्ययन

टेकपाना टेकपाना

माघ १, २०८२ १५:५७

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । म्यानचेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एउटा बृहत् अध्ययनले सामाजिक सञ्जाल वा गेमिङमा बिताइने समयले किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने धारणालाई चुनौती दिएको छ । यो अध्ययन यस्तो समयमा सार्वजनिक भएको छ, जब बेलायतका मन्त्रीहरूले अस्ट्रेलियाको सिको गर्दै १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेका छन् ।

अनुसन्धानकर्ताहरूले ११ देखि १४ वर्ष उमेरका २५ हजार किशोरकिशोरीहरूलाई लगातार तीन वर्षसम्म पछ्याएका थिए । यस क्रममा उनीहरूले आफैँले दिएका सामाजिक सञ्जालका बानी, गेम खेल्ने दर र भावनात्मक कठिनाइहरूलाई ट्र्याक गरिएको थियो । सहभागीहरूलाई सामान्य कार्यदिनमा टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट जस्ता प्लेटफर्म वा गेमिङमा कति समय बिताउँछन् र उनीहरूको मुड कस्तो रहन्छ भन्ने प्रश्नहरू सोधिएका थिए ।

अध्ययनले केटा वा केटी दुवैको हकमा धेरै सामाजिक सञ्जाल प्रयोग गर्दा वा धेरै गेम खेल्दा अर्को वर्ष एन्जाइटी (तनाव) वा डिप्रेसनका लक्षण बढेको कुनै प्रमाण फेला पारेन । कक्षा ८ देखि १० सम्म पुग्दा सामाजिक सञ्जालको प्रयोगमा वृद्धि भए तापनि यसले उनीहरूको मानसिक स्वास्थ्यमा 'शून्य नकारात्मक प्रभाव' (zero detrimental impact) पारेको पाइएको छ ।

अध्ययनका प्रमुख लेखक डा किकी चेङका अनुसार केवल सामाजिक सञ्जालमा समय बिताउँदैमा मानसिक समस्या हुन्छ भन्ने कुरा सही होइन र यो विषय निकै जटिल छ । अनुसन्धानमा सक्रिय रूपमा अरूसँग च्याट गर्नु वा निष्क्रिय रूपमा फिडहरू स्क्रोल गर्नु, कुनै पनि कार्यले मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको देखिएन ।

त्यस्तै गेमिङमा बढी समय बिताउँदा पनि विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा कुनै नकारात्मक असर परेन ।

अनुसन्धानकर्ताहरूले अनलाइन अनुभवहरू पूर्ण रूपमा हानिकारक छैनन् भन्ने दाबी भने गरेका छैनन् । उनीहरूका अनुसार अपमानजनक मेसेज, अनलाइन दबाब र आपत्तिजनक सामग्रीहरूले स्वास्थ्यमा नराम्रो असर पार्न सक्छन् । तर केवल स्क्रिनमा व्यतीत गर्ने समयलाई मात्रै दोष दिनु वा ध्यान केन्द्रित गर्नु प्रभावकारी हुँदैन ।

अध्ययनका सह-लेखक प्रोफेसर नील हम्फ्रेले प्रविधिलाई दोष दिनुको सट्टा युवाहरूले अनलाइनमा के गरिरहेका छन् भन्ने कुरामा ध्यान दिनु पर्नेमा जोड दिएका छन् । उनीहरू कोसँग जोडिएका छन् र आफ्नो दैनिक जीवनमा कत्तिको सहयोगी वातावरण महसुस गरिरहेका छन् भन्ने कुराले उनीहरूको मानसिक अवस्था निर्धारण गर्ने उनको तर्क छ ।

हम्फ्रेका अनुसार युवाहरूको मानसिक अवस्था कस्तो छ भन्ने कुराले उनीहरूको सामाजिक सञ्जालको छनोटलाई प्रभाव पार्न सक्छ । तर सामाजिक सञ्जालले मात्र उनीहरूको भावनालाई निर्देशित गर्दैन ।

यो अध्ययन जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित छ । यसले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने सरकारी तयारी भइरहेका बेला नयाँ बहस सिर्जना गरिदिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १, २०८२ १५:५७