काठमाडौँ । स्मार्टफोन स्लो हुनुका धेरै कारण हुन्छन् । कहिलेकाहीँ केही सेटिङ वा थाहै नपाई ब्याकग्राउण्डमा चलिरहेका एपले यसलाई ढिलो बनाउँछन् । तर धेरैले सोच्दै नसोचेको कुरा के हो भने तपाईँको चार्जरले पनि फोनको गति घटाउन सक्छ र यसको पछाडि ठोस प्राविधिक कारण छन् । यदि तपाईँ आफ्नो सुस्त फोनको समस्या तुरुन्तै समाधान गर्न चाहनुहुन्छ भने चार्जरले कसरी असर गर्छ र अब के गर्ने भन्ने कुरा बुझ्नु निकै महत्त्वपूर्ण छ ।
मुख्य समस्या नै फोन तात्तिनु !
फोन सुस्त बनाउनमा तातोपना अर्थात् ‘हिट’ ले ठूलो भूमिका खेल्छ । धेरै मानिसहरू जथाभाबी र प्रमाणित नभएका सस्तो चार्जर प्रयोग गर्छन् । सुरुमा यो सामान्य लागे पनि समयसँगै यसले समस्या निम्त्याउँछ । कमसल चार्जरले बिजुलीको प्रवाहलाई राम्ररी नियन्त्रण गर्न सक्दैनन् । यसले गर्दा ब्याट्री आवश्यकताभन्दा बढी तातो हुन्छ । जब फोन धेरै तातो हुन थाल्छ यसको भित्री पाटपुर्जा जोगाउनका लागि सिस्टमले स्वतः प्रोसेसरको गति घटाइदिन्छ । यसले गर्दा फोन चलाउँदा ढिलो महसुस हुन्छ । बिग्रिएको वा गुणस्तरहीन चार्जर प्रयोग गरेर चार्ज गर्दै फोन चलाउँदा फोन स्लो भएको झनै महसुस हुन्छ । र, यसले ब्याट्री लगायत भित्री भागमा दीर्घकालीन क्षति पुर्याउँछ ।
केबलले पनि उत्तिकै खेल्छ भूमिका !
एडप्टर मात्र नभई फोन स्लो हुनुका पछाडि चार्जिङ केबलले पनि उत्तिकै प्रभाव पार्छ । बजारमा अनगिन्ती ब्रान्ड र मूल्यका केबल पाइन्छन् र ती सबैले उस्तै काम गर्छन् भन्ने भ्रम हुन सक्छ । तर यदि तपाईँले धेरै सस्तो र कमसल केबल प्रयोग गरिरहनुभएको छ भने यसले तपाईँको फोनको पर्फमेन्स घटाइरहेको हुन सक्छ । उदाहरणका लागि फास्ट चार्जर प्रयोग गर्दा पनि फोन चार्ज हुन घण्टौँ लाग्यो भने बुझ्नुहोस् कि केबलले पर्याप्त पावर प्रवाह गर्न सकेको छैन ।
कमसल केबलका भित्री तार मसिना हुन्छन् जसले बिजुलीको प्रवाहलाई रोक्छन् र फोन अत्यन्तै बिस्तारै चार्ज हुन्छ । कतिपय अवस्थामा त पर्याप्त पावर नपाएकै कारण चार्ज भइरहेको बेला फोन सुस्त चल्न सक्छ । एडप्टर राम्रो भए पनि केबल नराम्रो हुँदा फोनको समग्र अनुभव नै खस्किन सक्छ ।
जब एडप्टर वा केबल गुणस्तरहीन हुन्छ वा खिइँदै जान्छ, यसले स्मार्टफोनमा थप भार थप्छ । अस्थिर वा अपर्याप्त पावर आपूर्तिलाई सन्तुलनमा राख्न फोनले बढी मेहनत गर्नुपर्ने हुन्छ जसले गर्दा बढी ऊर्जा खपत हुनुका साथै तापक्रम पनि बढ्छ । यसको परिणाम स्वरूप एप ढिलो खुल्ने, मल्टिटास्किङमा समस्या आउने र ब्याट्रीको आयुलगायत समग्र प्रतिक्रिया क्षमता घट्दै जान्छ । चार्जर र केबल बाहेक फोनको चार्जिङ पोर्ट आफैँ पनि समस्याको स्रोत हुन सक्छ ।
खल्ती वा झोलामा फोन राख्दा पोर्टभित्र धुलो र फोहोर जम्मा हुन्छ जसले गर्दा केबल र फोनबीचको सम्पर्क राम्रो हुन पाउँदैन । यसले बिजुलीको प्रवाहमा अवरोध पुर्याउँछ र फोन कहिले चार्ज हुने, कहिले नहुने वा अत्यन्तै बिस्तारै चार्ज हुने समस्या देखिन्छ । कहिलेकाहीँ फोन सामान्य रूपमा चार्ज भइरहेको जस्तो देखिए पनि यसले फोनको पर्फमेन्सलाई सपोर्ट गर्ने पर्याप्त पावर पाइरहेको हुँदैन । त्यसैले एडेप्टर र केबल जस्तै चार्जिङ पोर्टलाई पनि सफा राख्नु निकै जरुरी छ ।
यस्ता समस्यालाई कसरी गर्न सकिन्छ समाधान ?
यी समस्याबाट बच्नका लागि सबैभन्दा सरल उपाय भनेको उच्च गुणस्तरका एक्सेसरिज प्रयोग गर्नु हो । सुरुमा अलि महँगो लगानी जस्तो लागे पनि यसले तपाईँको फोनको पर्फमेन्स जोगाउन र दीर्घकालीन रूपमा फाइदा पुर्याउँछ । धेरै ब्रान्डले अहिले बट्टामा चार्जर नदिने हुनाले सिधै आधिकारिक ब्रान्डबाटै चार्जर किन्नु बुद्धिमानी हुन्छ । सकेसम्म फोनसँगै आएको केबल प्रयोग गर्नुहोस् किनकि अन्य सस्तो विकल्पले फोनमा क्षति पुर्याउन सक्छन् । त्यस्तै गाडीमा चार्ज गर्नुको साटो सिधै भित्ताको प्लग प्रयोग गर्नु बढी प्रभावकारी हुन्छ । चार्ज भइरहेको बेला फोन नचलाउनाले चार्जिङ छिटो हुनुका साथै फोनलाई पनि केही समय आराम मिल्छ ।
फोन चार्ज गर्ने बारे धेरै भ्रमहरू रहेका छन् जस्तै रातभर चार्ज गर्दा फोन बिग्रिन्छ भन्ने डर वा सही चार्जर र केबलले फोनको गतिमा पार्ने प्रभावबारे अनभिज्ञता । तर मुख्य कुरा के हो भने यदि तपाईँ आफ्नो फोन लामो समयसम्म टिकोस् र छिटो चलोस् भन्ने चाहनुहुन्छ भने यस्ता कुरामा सचेत रहनुपर्छ । सामसङ फोनमा आउने ‘Moisture Detected’ जस्ता चेतावनीलाई पनि सही तरिकाले समाधान गरेर चार्जिङ प्रक्रियालाई सहज बनाउन सकिन्छ । ब्याट्री स्वस्थ र फोनको गति राम्रो भएमा छिट्टै फोन फेरिरहनु पर्ने आवश्यकता पर्दैन ।
गुणस्तरीय सामानको प्रयोग, सफा चार्जिङ पोर्ट र चार्ज हुँदा फोनलाई दिइने थोरै आरामले तपाईँको स्मार्टफोनको अनुभवमा ठूलो सुधार ल्याउन सक्छ ।
पछिल्लो अध्यावधिक: माघ ३, २०८२ १४:५६
